कुम्भमेलाको उदघाटन राष्ट्रपतिबाट सम्पन्न

IMG-20240409-WA0017

झापा, भद्रपुर (नेपाल): राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको ऐतिहासिक, पर्यटकिय तथा धर्मिक क्षेत्रको रूपमा रहेको बराह क्षेत्र नगरपालिकास्थित चतराधामको महत्त्व कुम्भ मेला सञ्चालनबाट  उच्च भएको बताएका छन्। मंगलबारदेखि यहाँ शरु भएको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भमेलाको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो विचार व्यक्त गरेका हुन्। उनले कुम्भ प्रारम्भ भएको पवित्र दिनले गणतन्त्रले बोकेको दर्शनलाई सार्थक रूप दिन हामी सबैलाई सत्प्रेरणा मिलोस् भन्ने कामना गरेका  थिए। राष्ट्रपति पौडेलले कार्यक्रमको सम्बोधन गर्दै  धर्मको अर्थ विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना स्थापना गर्नु रहेको उल्लेख गर्दै  द्रष्टाहरूले हजार वर्ष पहिले नै अहिलेको विश्वको कोलाहल र जलवायु परिवर्तनको समस्याको त्यतिबेलै समाधान हुने बिषय उल्लेख गरेका थिए। राष्ट्रपति पौडेलले भने, ‘त्यो बेला आजको जस्तो जलवायु परिवर्तन भएको थिएन, त्यसैले अबको युग वैदिक संस्कृतिको पुनरुत्थानको युग मानेर  चिन्तन र आचरणमा चल्न आवश्यक छ, आजको जलवायु परिवर्तन साथै अन्तर्राष्ट्रिय कलहको समेत समाधान हुनेछ भन्ने मलाई लाग्छl’

राष्ट्रिपति पाडेलले सबै जात, जाति, धर्म, सम्प्रदाय, भाषाभाषी बीचको समभाव र एकता नै संघीय लोकतान्त्रिक गणतन्त्रको पनि मूल लक्ष्य भएको विचार व्यक्त गरे। उनले ऋषिमहर्षिहरूको तपोभूमि, देवदेवीहरूको क्रिडास्थली, एक पवित्र तीर्थस्थल नेपाल आमाको पवित्रभूमी  बराहक्षेत्रको  प्राचीन हरिद्वार चतराधामको महाकुम्भ नगरीमा सहभागी हुन पाउँदा सुखानुभूति र गौरव महसुस भएको बताए। उनले चतराधाम नेपालका चार धाममध्येको एक धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण तथा  विश्वकै चार पवित्र क्षेत्रमध्येको एक मानिएको  विचार प्रस्तुत गरे। राष्ट्रपति पौडेलले परापूर्वकालदेखि नै हिमशृङ्खलाबाट उद्गम भएर बग्ने पवित्र नदीहरूको प्रवाह, महान् व्यक्तित्वहरूको जन्म, तपसाधना र उनिहरूबाट मानव जातिको सर्वोत्तम हितका निम्ति व्यक्त विचारका कारण यसको आफ्नै महत्व र महिमा रहँदै आएको बताए।

राष्ट्रपति पौडेलले अर्को प्रसङमा बोल्दै  राजनीतिमा जसले जस्तो गठबन्धन बनाए पनि मुलुकको विकास र सुशासन प्रवर्द्धनका निम्ति सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्नेमा जोड दिएका छन्। उनले निमुखा जनताले  स्वतन्त्रता उपयोग गर्न पाउनुपर्ने  उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको दर्शनलाई सबैले आत्मसात् गर्न आग्रह पनि गरे। ‘राजनीतिमा जो–जो जताजता भए पनि दिगो विकास, सुशासन र देशको समृद्धिका निम्ति सबैको एउटै मूलमन्त्र र  एउटै गठबन्धन हुन आवश्यक छ’, राष्ट्रपति पाडेलले भने, ‘जनता आफैंले बनाएको संविधानमा व्यवस्था भएका सबै अधिकारले निमुखा जनतालाई निर्बाध स्वतन्त्रता उपयोग गर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म होl’

कार्यक्रममा राष्ट्रपति पौडेललाई उनको सम्मानमा  नागरिक अभिनन्दन  गरिएको थियाे ।समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की लगायतले महाकुम्भ मेलाको सफलताका निम्ति शुभकामना व्यक्त गरे। उनले धार्मिक तथा पर्यटकिय बराहक्षेत्र तथा चतराधामको विकास र समृद्धिका निम्ति सबैको पहल आवश्यक भएको उल्लेख गर्दै प्रदेश सरकार यसका निम्ति पछि नहटने पनि बताए।

नेपालमा कुम्भमेलाका परिकल्पनाकार तथा प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले शास्त्रमा प्रमाण भेटिए अनुसार  चतरामा कुम्भमेला लगाउने प्रशस्त आधार रहेको बताए। उनले शास्त्रीय प्रमाणको गहन अध्ययान पछिको आधारमा  यहाँ कुम्भमेला लगाउन शुरु गरिएको उल्लेख गर्दै  मेलामा सहभागी बनेर पुन्यप्राप्त गर्न सबै हिन्दू धर्मालम्बीहरुमा आग्रह गरे। उनले अध्यात्मिक हिसाबले अत्यन्त महत्वपूर्ण मानिएको प्राचीन हरिद्वारा चतराधाममा एक महिने पूर्णमहाकुम्भ मेला लागे पछि सम्पूर्ण क्षेत्र उत्साहित भएको बताए। उहाँलें कुम्भ मेलाबाट नेपाल र नेपाली बिचको एकता तथा धार्मिक सदभावमा विकास हुने हुँदा देश विदेशबाट कुम्भमेलाको दर्शनका लागि चतरा आउने भएकाले पनि यसको महत्व बढेर जाने उल्लेख गदै बर्सेने धर्मका नाममा विदेशिने रकम रोकथाम गर्न कुम्भ मेला आवश्यक भएको जानकारी दिए। 

मेलाका लागि सरसफाई, पन्डालको निर्माण, प्रचारप्रसार, विद्युत तथा सञ्चार सुविधा, शान्तिसुरक्षा तथा विपद जोखिम न्यूनिकरणका निम्ति पहल भएको    साथै मेला अवधीभर चतरामा मदिरा माछा,मासु विक्री वितरणमा निषेध गरिएको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश  कार्कीले जानकारी गराए। उनले मेलामा नेपाल अधिराज्यभरी तथा विदेशी भुमीबाट समेत दर्शनका निम्ति आउने भएकाले यसको महत्व अझै बढेर जाने बताए।

पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिका अनुसार देश विदेशका गरि लाखौं  धार्मिक भक्तजनको मेलामा सहभागिता रहने  उल्लेख गरिएको छ। मेला ९ अप्रेल देखि ११ मई (चैत २७ देखि बैशाख २८ गते)सम्म एक महिनाका निम्ति  लाग्नेछ। मेलामा दर्बिलो सुरक्षा व्यवस्था गरिएको आयोजकले बताएको छ।  धार्मिक तथा पर्यटकीय हिसावले समेत भव्य, सभ्य मानिएको कुम्भ मेलामा नेपाल र भारतका भक्तजनहरु सहभागी भएका छन्। बाह्रकुम्भ मध्ये नेपाल लगायत भारतका प्रयाग, नासीक, उज्जैन र हरिद्धारमा कुम्भमेला लाग्ने गर्दछ। कुम्भ मेलाले  हराएको धर्म ,संस्कार र संस्कृतीको पुर्नउत्थान गरेको धार्मिक जानकारहरू बताउँछन्। अघि समुद्र मन्थन जस्तो साह्रै कठिन कार्य शुभारम्भ भयो त्यसबेला अमृतको सट्टा हला हल बिष निस्कियो। त्यस्तो विघ्न बाधा आउंदा पनि त्यसबाट पछी नहटी डटिरहदा कार्य सफल भई अमृतको घडा असल ब्यक्तिको हातबाट खराब व्यक्तिको हातमा पर्नु र फेरी त्यही अमृत सही व्यक्ति र क्षेत्रमा सर्वप्रथम स्थापित भएको आधारमा कुम्भ महोत्सव भएको भनाइ प्रचलित छ। 

नेपाल र नेपालीहरुको सान मान सम्मानसँग जोडिएको विश्वकै पाचौं कुम्भका रूपमा अन्तर्राष्ट्रिय जगतमा नै स्थापित भएको बाहबसें पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको प्रचारप्रसार सुदूरपश्चिमका दार्चुलादेखि ताप्लेजुङ्गसम्म मात्र नभएर भारत भुटान अमेरिका अष्ट्रेलिया क्यानडा नर्वे बेलायत जस्ता देशहरुमा आज कुम्भ पुगेको आयाेजकले उल्लेख गरेको छ। यस पटकको कुम्भमेलालाई सफल बनाउँन अमेरिका स्थित अन्तर्राष्ट्रिय निम्बार्क आध्यात्मिक प्रतिष्ठान धर्माचार्य श्री भागवतशरणजी महाराज लगायत करिब ५० जनाको टोली नेपालको  चतराधाम आएका छन्। 

नेपाल र नेपालीको छुटै पहिचान कायम गर्न सक्षम रहेको  कुम्भमेलामा सहभागी भई पुन्य कमाउन आयोजकको अपिल रहेको छ। यहाँ प्रत्येक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भ मेला लाग्ने गरेको छ। नेपालमा प्रथम पिण्डेश्वर कुम्भ मेला महोत्सवको रूपमा १९ मार्च २००२ (२०५९ चैत्र ६ गते)देखि एक महिना सम्म सञ्चालन भएको थियो। त्यसै गरि २० मार्च २००७ (२०६३ चैत्र ६ गते)देखि एक महिनासम्म अर्द्वकुम्भका रूपमा प्राचीन हरिद्धार चतरामा मेला लागेको थियो। विसं २०७०/७१ मा बाह्र वर्षे महाकुम्भ मेला आयोजना गरिएको थियो। अर्द्वकुम्भ मेला विसं २०७५/ ७६ मा लागेको थियो। भारतमा जहाँ जहाँ एक एक थोपा अमृत झरे त्याहां कुम्भ मेला भन्ने चलन रहेको तथा नेपालमा भने रूद्राक्षको सुन्दर वनमा अमृत तरलाई पिण्ड बनाएर स्थापना गरिए पछिकुम्भ मेला भन्ने गरिएको धार्मिक जानकारहरू बताउँछन्। कुम्भ मेलामा आएका भक्तजनले विभिन्न धार्मिक कार्यमा सहभागिता जनाएर धार्मिक लाभ  लिने गरेका छन्। कुम्भ आजोजना हुन थालेसँगै हिमवत् खण्डको कौशिकी किनारमा रहेको प्रसिद्ध प्राचीन हरिद्वार चतरा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा परिचित हुँदै आएको तथा  धार्मिक मात्र नभई देशका निम्ति आर्थिक फलदायी भएको  जगतगुरु बालसन्त महाराजले उल्लेख गरे। महाकुम्भकै अवसरमा चतरास्थित रामानन्दाचार्य सेवा पीठले पनि नवरात्र अनुष्ठान सुरु गरेको छ। पीठले १५ अप्रेल (वैशाख १) देखि संकटमोचन श्रीहनुमद महायज्ञ गर्ने र १९ मार्च (वैशाख ५)मा पीठको निमन्त्रणमा भारतको बागेश्वर धामका कथावाचक धीरेन्द्र शास्त्री (बागेश्वर सरकार) सहभागी हुने कार्यक्रम छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *