सोनादा: न्यूटन्स् माइन्ड पब्लिक स्कूल, ग्यारेज लाइन सोनादाले उन्नति फाउन्डेसन सिलगढीको सहयोगमा विद्यालय परिसरमा नि:शुल्क दन्त चिकित्सा शिविरको आयोजना गरियो। नि:शुल्क दन्त शिविरमा स्वर्ण पदक विजेता डा दीपक कुमार गुप्ता बीडीएस, सिलगढीका प्रमुख दन्त तथा प्रत्यारोपण सर्जनबाट दाँत जाँच गराउने ४०० भन्दा बढी व्यक्तिको उपस्थिति रहेको थियो। नि:शुल्क दन्त शिविरबाट सहभागी सबैले आफ्नो दाँतको पूर्ण चेकअप गर्नुका साथै केही नि:शुल्क औषधि पनि वितरण गरिएको थियो। उनीहरूलाई चिकित्सकले आफ्नो अवस्था अनुसार दाँतको स्वास्थ्यका लागि मेडिकलबाट किन्न सक्ने विभिन्न औषधिहरु पनि सुझाव दिएका छन्। उक्त विद्यालयको प्रधानाध्यापक कौशल क्षेत्रीले आफ्नो स्कूलका नानीहरूको दाँतको अवस्था राम्रो नभएको तथा दिनका दिन नानीहरूले दाँत दु:खेको पीडा सहेको देखेर यो नि:शुल्क दन्त जाँच शिविर लगाउने निर्णय लिएको कुरा बताएका छन्। उक्त शिविरमा आफ्नो स्कूलका छात्र-छात्राहरूको मात्र नभएर उनीहरूको अभिभावकवर्ग साथै वरिपरिका दाँतको समस्या भएको मानिसहरूले पनि उक्त शिविरको लाभ उठाएको उनले बताएका छन्। आउँदो दिनहरूमा अझैं अन्य समस्याहरूलाई लिएर नि:शुल्क शिविरको आयोजना गरिने बताउँदै सम्पूर्ण शिक्षक शिक्षिका, स्टाफ तथा अभिभावकवर्गलाई यस शिविर सफल तुल्याउनमा साथ दिएकोमा धन्यवाद ज्ञापन गरेका छन्। उक्त शिविरमा डा. दिपक कुमार गुप्ता साथै उन्नति फाउन्डेसनका कार्यकर्ता लमु शेर्पालाई सम्वर्द्धना जनाइएको छ।