खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा घैयाबारीस्थित पार्टीको चुनाव कार्यालयमा सम्पन्न भएको छ। उक्त सभा भागोप्रमोको खरसाङ महकुमा समितिको सह सचिव सञ्जीव लामाको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई समष्टिको प्रवक्ता बिपन विश्वकर्मले सञ्चालन गरेका थिए भने भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, समष्टि सचिव साथै सभासद नवराज छेत्री, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई र सभाध्यक्ष सञ्जीव लामाले पनि सम्बोधन गरेका थिए। सभामा वक्ताहरूले आगामी लोकसभा चुनावमा भागोप्रमो समर्थित प्रार्थी गोपाल लामालाई जिताउन आह्वान् गरेका छन्। यसको साथै प्रार्थी गोपाल लामा आगामी १५ अप्रेलको दिन तीनधारे महानदी समष्टिको चारवटै ग्राम पञ्चायतहरूमा चुनाव प्रचार गर्दै आउने भएको जानकारी गराइएको छ। प्रार्थी गोपाल लामालाई तीनधारे महानदी समष्टिको रंगटङ्ग, चुनभट्टी, तीनधारे, घैयाबारी र महानदी क्षेत्रमा स्वागत जनाउने भएको र उक्त चुनाव प्रचारको समयमा चारवटै ग्राम पञ्चायतका पञ्चायत प्रधान, उप प्रधान, पञ्चायत समिति सदस्यहरू, पञ्चायत सदस्यहरू साथै भागोप्रमोको सबै पदाधिकारीहरू र कार्यकर्ताहरूलाई उपस्थित भईदिने आह्वान् गरिएको छ। सभामा प्रार्थी गोपाल लामालाई स्वागत जनाउनलाई ग्राम पञ्चायत स्तरीय कमिटी गठन गरेर जिम्मोवारी पनि दिइएको छ। यसै सभामा घैयाबारीको राजु छेत्रीलाई सभासद नवराज छेत्रीको बाहुलीबाट खदार्पणसहित पार्टीमा पुन: स्वागत जनाइएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले विस्तृत रूपमा जानकारी गराउँदै आगामी १५ अप्रेलको दिन भागोप्रमो समर्थित लोकसभाको प्रार्थी गोपाल लामालाई तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा स्वागत जनाउन सबैजनालाई उपस्थित भईदिने अनुरोध गरेका छन्।