कालचिनी: एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजनामा आजादीको अमृत महोत्सव कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको क्रममा बिहीबार एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको तत्परतामा कालचिनीमा हर घर तिरंगा कार्यक्रम सम्पन्न भएको एसएसबी स्रोतले बताएको छ। यस अवसरमा एसएसबी ५३ वाहिनीका अधिकारी अजीत हजारिका लगायत कालचिनी विधायक विशाल लामा एवं स्थानीय पञ्चायत सदस्य साथै जनप्रतिनिधिको उपस्थितिमा एसएसबीद्वारा आउँदो १३ देखि १५ अगस्तभित्र घर घरमा तिरंगा झण्डा लगाउने आह्वान गरिएको थियो। मूलतः देशवासीहरुमा देशप्रेमको भावना जगाउन स्वतन्त्रताको ७५औँ वर्ष पूरा भएकोमा यो महोत्सव चलिरहेको र हर घर तिरंगा अभियानको निम्ति तिरंगा झण्डा वितरण पनि गरिएको एसएसबी सुत्रले जनाएका छन्। यस अवसरमा उपस्थित कालचिनी विधायक विशाल लामाले देशले स्वाधीनता पाएको ७५ वर्ष पुगेकोमा हामी सबै भारतीय नागरिकहरुले देशप्रेम व्यक्त गर्न तिरंगा झण्डा घर घरमा फहराउन पर्ने कुरामा जोड दिए।