गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका उम्मेदवार डा. एडी सुब्बामाथि हमला भएको छ। डा. सुब्बामाथि सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका कार्यकर्ताहरूले हमला गरेको आरोप एसडीएफले लगाएको छ।
एसडीएफ पार्टीले आज जारी गरेको एक प्रेस विज्ञप्ति अनुसार, डा. एडी सुब्बा सोरेङ-च्याखुङ निर्वाचन क्षेत्र अन्तर्गत छोटा साम्दुङमा चुनाउ प्रचार गरिरहेका थिए। त्यही समय एसकेएम कार्यकर्ताहरूले डा. सुब्बामाथि हमला गरे। आशमान सुब्बा र प्रमोद तामाङले हमला गर्न आदेश दिएको एसडीएफले आरोप लगाएको छ।
यस घटनामा टिम्बुरबुङका वरिष्ठ नागरिक आईबी सुब्बा पनि गम्भीर रूपमा घाइते भएको र सोरेङ अस्पतालमा भर्ती भएको प्रेस विज्ञप्तिमा उल्लेख छ। विपक्षी उम्मेदवार र लोकतन्त्र समाप्त गर्ने ध्येयका साथ आक्रमण गरिएको एसडीएफले आरोप लगाएको छ।
यस घटनाको सम्बन्धमा सोरेङ पुलिस थानामा प्राथमिकी दर्ता गर्न जॉंदा पुलिसले उक्त घटना आफ्नो क्षेत्र अधिकारभित्र नघटेको भन्दै प्राथमिकी दर्ता गर्न नमानेको पनि एसडीएफले आरोप लगाएको छ।