डा. सीबी छेत्रीले आफ्नो निर्वाचन क्षेत्रको निम्ति जारी गरे घोषणा पत्र

photocollage_202448231326807.jpg

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको अप्पर तादोङ निर्वाचन क्षेत्रका उम्मेदवार डा. सीबी छेत्रीले आफ्नो निर्वाचन क्षेत्रको निम्ति आज घोषणा पत्र जारी गरेका छन्। उनले एसडीएफ पार्टी पुनः सत्तामा फर्केर आइरहेको दाबी गर्दै सरकारमा आउनसाथ उक्त घोषणाहरूमाथि काम गर्ने बताएका छन्।

तादोङस्थित स्थानीय एउटा होटलमा आज आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै डा. छेत्रीले उक्त कुरा भने। उनले अप्पर तादोङ निर्वाचन क्षेत्रका चारवटा वार्डको भ्रमण गरेर त्यहॉं गर्नुपर्ने १७२ वटा ठूला-साना विकासीय कार्यहरू चिन्हित गरिसकेको जानकारी गराए। एसडीएफले सरकार गठन गरेपछि उक्त चिन्हित गरिएका कार्यहरू भटाभट थाल्ने योजना रहेको उनले अवगत गराए।

उनले क्षेत्रमा पेयजल र निर्बाध बिजुली आपूर्ति सुनिश्चित गर्न उच्च प्राथमिकताका साथ काम गर्ने बताए। यस अतिरिक्त, क्षेत्रमा सड़क मार्ग विस्तार गर्ने, ठाउॅं-ठाउॅंमा ट्याक्सी स्टप र स्टयाण्डहरू बनाउने, पार्किङ बनाउने, प्रत्येक वार्डमा सामुदायिक हाल र खेलकुद पूर्वाधार निर्माण गर्ने योजना रहेको बताए।

डा. छेत्रीले अप्पर तादोङमा 20 प्रतिशत घरहरू सड़क मार्ग छेउ छन् भने ८० प्रतिशत घरहरू पुग्नका लागि फुटपाथ प्रयोग गर्नुपर्छ भने। यस विषयलाई ध्यानमा राख्दै स्मार्ट फुट वे निर्माण गरिने उनले बताए। उनले पॉंच वर्षमा अप्पर तादोङलाई जिरो वेस्ट निर्वाचन क्षेत्र बनाउने योजना रहेको पनि जानकारी गराए।

यसैगरी, सुरक्षा, महिला एवं बाल विकास, कौशल विकास, रोजगार, पर्यटन आदि क्षेत्रहरूमा पनि काम गर्ने उनले बताए। डा. छेत्रीले भने, ‘हामीले अप्पर तादोङको निम्ति सपना देखेका छौं र तयारीका साथ अघि आएका छौ।’ उनले आफुहरू नेता बन्न होइन, तर काम गर्न आएका छौं भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement