गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अध्यक्ष पवन चामलिङले जोरथाङमा मिनी सचिवालय बनाउने घोषणा गरेका छन्।
उनले मिनी सचिवालयमा मुख्यमन्त्री आएर तीन महिना जोरथाङमा बस्ने व्यवस्था गर्नेछौं भन्दै आउने सरकारमा जोरथाङ बजारलाई दक्षिण र पश्चिम सिक्किमको आर्थिक केन्द्रका रूपमा विकसित गर्ने बताएका छन्।
सोमवार नाम्चीमा आयोजित एसडीएफ पार्टीको चुनावी जनसभामा नाम्ची सिङ्गीथाङ, पोकलोक कामराङ, मल्ली अनि नाम्थाङ रातेपानीका जनतालाई सम्बोधन गर्दै चामलिङले सिक्किमको शान्ति सुरक्षाका लागि अनि सिक्किम बचाउनका लागि एसडीएफका उम्मेदवारहरूलाई मतदान गरेर जिताउन आग्रह गरे। उनले भने, हाम्रो एसडीएफ सरकारमा जनता शक्तिशाली थिए, वर्तमान एसकेएम सरकारमा जनता कमजोर भएका छन्, केवल मुख्यमन्त्री, उनको परिवार, सीएलसी-बीएलसी, गुण्डा-भट्टुहरू मात्र शक्तिशाली छन्।
उनले भने, हाम्रो सरकारमा फोसिल पार्कको निर्माण शुरू गरेका थियौं, तर यो सरकारमा त्यो काम रोकियो। हामी सरकारमा आएपछि पुनः शुरु गर्नेछौं। सिक्किमका बजारहरूमा बाहिरका व्यापारीहरूलाई शोरूम, शपिङ मलहरू खोल्न दिनेछैनौं। बजार सुक्न दिनेछैनौं। सिक्किमका जम्मै पार्किङ प्लाजाहरूमा भएका दोकानहरू दोकानेहरूकै नाममा नामसारी गरिदिनेछौं। जम्मै बजारमा व्यापारी भवन, बिहारी भवन, मारवाड़ी भवन, मुस्लिम भवन बनाउने वचन उनले दिए।
चामलिङले अनुसूचित जातिका इसाईहरूलाई हाम्रो सरकारले दुई प्रतिशत आरक्षण दिएको थियो अब त्यो बढाएर तीन प्रतिशत बनाउनेछौं भनी घोषणा गरे। उनले मुस्लिम दाजुभाईहरूलाई हाम्रो सरकारले कब्रिस्तानको जमीन दिएका थियौं त्यो एसकेएम सरकारले खोसेको आरोप लगाउँदै फिर्ता गर्ने बताए।
चामलिङले विद्यार्थीहरूलाई सम्बोधन गर्दै भने, कक्षा ६ देखि माथि पढ्ने विद्यार्थी नानीहरूलाई ल्यापटप दिनेछौं। घरबाट बाहिर बसेर पढ्ने नानीहरूलाई हाउस रेण्ट अलाउन्सको रूपमा पाँच हजार रुपियाँ दिनेछौं।
एसडीएफ अध्यक्षले भने, आज सिक्किममा शान्ति हराएको छ। चुनाउको समय, आचार संहिताको ठाडो उल्लंघन एसकेएम पार्टीले गरिरहेको छ। एसडीएफ पार्टीका उम्मेदवारहरूमाथि आक्रमण भइरहेका उल्लेख गर्दै जनतालाई अब पनि नबुझे सिक्किम बर्बाद भएर जानेछ भने। यसपालीको चुनाउ धेरै अर्थमा महत्वपूर्ण छ भन्दै चामलिङले भने, सिक्किमे जनतालाई एसकेएम र गोलेको गुण्डागर्दीबाट मुक्ति दिन हामी संघर्ष गरिरहेका छौं। एसकेएमले बर्बाद बनाएको सिक्किमलाई बचाउन हामी संघर्ष गरिरहेका छौं।
जनसभालाई सम्बोधन गर्दै नाम्ची सिङ्गीथाङका उम्मेदवार विमल राई, मल्ली क्षेत्रका एसडीएफ उम्मेदवार निर्मलकुमार प्रधान र लोकसभा उम्मेदवार पीडी राईले पनि सम्बोधन गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। यस अवसरमा २५ परिवारभन्दा धेरैले एसकेएम पार्टी त्यागेर एसडीएफ प्रवेश लिएको दाबी गरिएको छ।











