झापा (नेपाल): पूर्वीनेपाल स्थित इलामको सन्दकपुर गाउँपालिका वार्ड –५, हाँगेथामस्थित धप्परमा जंगली कुकुर (कन अल्पिनस) फेला परेको छ। प्रायः तराईमा मात्र पाइने दाबी गरिएको ‘ढोले’ भनिने यो जंगली कुकुर दुई हजार ६ सय ५० मिटर उचाईमा फेला परेको हो। वाइल्डलाइफ फोटोग्राफर देबेन खरेल बिहानको समयमा छाउरी जंगली कुकुरको तस्वीर खिच्न सफल भएका हुन्। खरेलले यो जनावर अढाई हजार मिटरभन्दा माथिको उचाईमा भेटिनु निकै महत्वपूर्ण उपलब्धि भएको बताए। ‘यो कुकुर प्रायः तराईमा मात्र पाइन्छ भनिन्छ तर कसैसँग यसको फोटो छ कि छैन, मलाई जानकारी भएन,’ खरेलले भने, ‘यो चाहिँ निकै इम्पोर्टेन्ट रेकर्ड । बरु स्याल देखिन्छ, फ्याउरो, दुम्सी, मृग देखिन्छ तर वाइल्ड डग नेपालको त्यो हाइटमा देखिनु ज्यादै नौलो हो। यो सामान्य विषय होइन।’