चीनमा नेपालको कन्टेनर प्रवेश

IMG-20240408-WA0004

झापा, भद्रपुर (नेपाल): नेपाली कन्टेनरले सामान आयातका निम्ति चिनियाँ क्षेत्र प्रवेश पाउन थालेका छन्। २५ अप्रेल २०१५ (२०७२ साल वैशाख १२)को विनाशकारी भूकम्पपछि पहिलो पटक सामान आयातका लागि नेपाली कन्टेनर चीनको स्वशासित क्षेत्र खासा बजारको रमितेमुनिसम्म जान पाएको  छ। तातोपानी नाकाबाट अहिले दैनिक दर्जनभन्दा बढी कन्टेनर, भ्यान रमितेभन्दा तलको भूभागमा रहेको आयात सेन्टरको यार्डमा सवारी र चालक जान पाइरहेका छन्। सो स्थानबाट नेपाली मालवाहक गाडी पुगेर पल्टी गरी सामान आयात गरिरहेका छन् तर भूकम्पले ध्वस्त खासा बजार पुनर्निर्माण भइरहेकाले त्यस स्थानमा नेपाली कन्टेनर जान पाएका छैनन्। 

प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले तिब्बतको खासा बजारमुनिको रमिते भन्ने स्थानबाट केही तलको क्षेत्रमा रहेको आयात सेन्टर यार्डमा सवारी र चालक सामान आयातका निम्ति जान पाइरहेको जानकारी दिए, तर अहिलेसम्म औपचारिक पत्र वा विवरण नआए पनि रमितेमुनिको क्षेत्रमा नेपाली मालवाहक गाडी पुगेर सामान आयात गरिरहेको उनले थपे। विभिन्न चरणमा नेपाल र चीनका अधिकारीबिच भएका बैठकमा चिनियाँ पक्ष सकारात्मक भएर कन्टेनर र चालक जान पाएका जिल्ला प्रशासन कार्यालयको भनाइ छ।

रमितेमुनिको मोड क्षेत्रमा टेलर, कन्टेनर सामान आयातका लागि गइरहेका छन्। चीनको सिगात्सेबाट १३.७५ लामो टेलरलाई सामान आयात यार्डमा स्थान र प्रवेश निश्चित गरिएको छ। नाका पूर्ण रूपमा सञ्चालनका लागि यो कदम आशालाग्दो रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उमेश प्रधानले बताए। तातोपानी नाकालाई पुरानै स्थितिमा फर्काउन चीन सरकारले गरेको सो कार्यप्रति नेपाल सरकार र नेपाली व्यापारी व्यवसायीमा उत्साह थपेको प्रधानले टिप्पणी गरेका छन्। चीनले आयातसँगै निर्यातमा पनि चासो देखाएको छ। फलफूल, लत्ताकपडा, विद्युत् सामान आयात भइरहेको छ। 

चीनले तातोपानी नाकालाई थप व्यवस्थित बनाउनका निम्ति विभिन्न योजना अघि सारेको छ। खासा बजारलाई स्मार्ट सिटी तयार गरी भौतिक पूर्वाधार र संरचना पुनर्निर्माणका कामलाई तीव्र गतिमा अघि बढाएको छ। करिब दुई वर्षभित्र पुनर्निर्माण कार्य सक्ने उसले लक्ष्य लिएको छ।  भूकम्प र पराकम्पले खासा बजार, रमिते बजार र त्यस भेगका तलका मोड क्षेत्रका चिनियाँ बजार खण्डहर बनेका थिए। खण्डहर बजार छाडेर चीनले आफ्ना नागरिक माथिल्लो बजारमा लगेको थियो। पुनर्निर्माण सकेपछि उसले खासा, रमिते, नाका क्षेत्रमा आफ्ना मानिस राख्ने तयारीमा जुटेको छ। नेपाली मालवाहक गाडी र चालक जान थालेपछि रमिते क्षेत्रमा चिनियाँ होटेल, पसल खुल्न थालेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement