गोर्खाहरू विरुद्ध कांग्रेसको नीति

IMG-20240408-WA0134

भारतमा गोर्खाहरूद्वारा आफ्नो अस्तित्व, भाषा, साहित्य अनि संस्कृतिको लागि अथक संघर्ष अनि बलिदानको फलस्वरूप जेजति उपलब्धिहरू अहिलेसम्म हामीलाई प्राप्त भएका छन्, त्यो कांग्रेसको दया र मायाले गर्दा प्राप्त भएका हुन् भनी चुनावी लाभ हासिल गर्ने स्वार्थ राखी भारतभरिका गोर्खाहरूलाई होँच्याउने अनि भ्रमित पार्ने प्रयास र षड़यन्त्र भइरहेको बखतमा इतिहासका रेकर्डहरूलाई सही रूपमा प्रस्तुत गर्नु पर्ने खाँचो छ। कुनै पनि विवेकशील अनि स्वाभिमानी गोर्खाले यसको प्रतिवाद गर्नु र यस्ता झुटा अनर्गल कुरा गर्नेहरूलाई मुखभरीको जवाफ दिनु आवश्यक छ। गोर्खाहरूका हितैषी भनाउँदा यस्ता तथाकथित हवाई नेताहरूको पोल खोल्नु जरुरी छ।   

‘हिल ट्राइब्स’ दर्जा खोसिनु

१९४१ को जनगणनासम्म दार्जीलिङ पहाड, तराई अनि डुवर्स, आदिवासी क्षेत्रको रूपमा प्रशासित थियो। सबै गोर्खा जातगोष्ठीलाई ‘हिल ट्राइब्स’ मानिन्थ्यो, र बाँकी बङ्गालमा लागू हुने नियम र कानून यहाँ लागू हुँदैन थियो। तर स्वतन्त्रता पछि सबै गोर्खा जात-गोष्ठीहरूलाई कांग्रेसले आदिवासी सूचीबाट हटायो। हामीलाई ‘जिल ट्राइब्स’ समुदायको रूपमा प्राप्त संरक्षणलाई कांग्रेसले षडयन्त्र गरि खोस्नु, स्वतन्त्रता पछि कांग्रेसले गोर्खा जातिलाई दिएको पहिलो धोखा थियो।  

पश्चिम बंगालमा दार्जीलिङ, तराई डुवर्स विलय

स्वतन्त्रता पछि दार्जीलिङ, तराई अनि डुवर्सलाई वेस्ट बेंगल ल्याण्ड एक्युजिसन एक्ट (१९५४) को माध्यमले पश्चिम बङ्गालमा सुटुक्कै गाभियो। यसबारे गोर्खाहरुलाई कसैले सम्पर्क गरेन। हामी बङ्गालमा गाभिन चाहन्छौं वा चाहँदैनौँ भनी कसैले सोधेन। कांग्रेसले हाम्रो क्षेत्रलाई जबर्जस्ती पश्चिम बङ्गालमा गाभ्यो।  एकस्क्ल्युडेड वा पार्सिअली एक्सक्लुडेड क्षेत्रको रूपमा प्रशासित बाँकी क्षेत्रहरूलाई केन्द्र प्रशासित प्रदेश युनियन टेरिटोरीरूमा परिणत गरियो, तर कांग्रेसले दार्जीलिङ पहाड, तराई अनि डुवर्सलाई यसबाट पनि वञ्चित गरे।

भाषा आन्दोलन

नेपाली भाषा मान्यता आन्दोलन १९५६ देखि शुरु भएको थियो, अनि ३६ वर्षको लामो संघर्ष पछि हाम्रो भाषाले मान्यता पाएको हो। भाषाको लागि भएको आन्दोलनमा अनेकौँ शहीद भए – कांग्रेसले भाषा मान्यता दिएको हो भन्ने दाबी गर्दा केहि व्यक्तिहरूले हाम्रा भाषा संग्रामीहरूले गरेको बलिदानको अवमानना गरिरहेका छन्। गोर्खा भाषा मान्यताको माग गरिँदा, कांग्रेसका प्रधानमन्त्री मोरारजी देसाईले गोर्खाप्रतिनिधि मण्डललाई ‘तिमीहरूले यो माग यहाँ किन गरिरहेका छौ, गएर आफ्नो राजासँग माग’ भनेका थिए,  उनको तात्पर्य नेपालको राजासँग थियो। कांग्रेसले गोर्खा जातिलाई सधैँ ‘विदेशीहरू’को रूपमा हेर्ने गरेको छ।

हिजआज केहिले भन्दैछन् कांग्रेसले नेपाली भाषालाई मान्यता दियो’, कांग्रेसले तश्तरीमा सजाएर  हाम्रो भाषालाई मान्यता दिएको होइन, यसको लागि हामीले कांग्रेसलाई बाध्य गरेका हौँ।

दार्जीलिङ निर्वाचन क्षेत्रबाट डुवर्सको मालबजारमटेली क्षेत्रहरू हटाउने

१९७३ सम्म डुवर्सको मालबजार र मटेली क्षेत्र दार्जीलिङ लोकसभा निर्वाचन क्षेत्रको हिस्सा हुने गर्दथ्यो। यस सम्पूर्ण निर्वाचन क्षेत्रमा गोर्खाहरूको बाहुल्यता थियो। गोर्खाहरु डिसाइडिङ्ग फ्याक्टर भएको कांग्रेसले पचाउन सकिरहेको थिएन, जो त्यति बेला देशको अन्य क्षेत्रहरूमा सर्वेसर्वा थियो। त्यसैले तिनीहरूले गोर्खा बाहुल्य मालबजार र मटेली क्षेत्रलाई दार्जीलिङ लोकसभा निर्वाचन क्षेत्रबाट चुँडाएर लगे, अनि इस्लामपुर-चोपडालाई दार्जीलिङ लोकसभा निर्वाचन क्षेत्रमा गाभे, जसको हाम्रो क्षेत्रसँग धेरै समानता छैन। कांग्रेसले दार्जीलिङ लोकसभा निर्वाचन क्षेत्रमा गोर्खाहरूको वर्चस्वलाई समाप्त गर्न यसो गरेको थियो। गोर्खा जातिलाई टुक्र्याएर हाम्रो भोटिङ्ग शक्तिलाई समाप्त गर्दा, के कांग्रेसले गोर्खाहरूप्रति दयावान भएर यसो गरेका थिए?

उत्तर पूर्वी राज्यहरुमा भूमिपुत्र आन्दोलन

समग्र उत्तरपूर्व भारतमा कांग्रेसले तथाकथित ‘भूमिपुत्र आन्दोलन’ प्रायोजित गऱ्यो। यसको प्रमुख शिकार गोर्खाहरू भए। गोर्खाहरूमाथि ‘विदेशी’को लेबल लगाए उनीहरूलाई आफ्नाघरबाट भाग्न बाध्य गरे, हजारौं गोर्खा चेलीहरूको इज्जत लुटियो, हजारौं गोर्खाहरूको हत्या भयो। फलस्वरूप एक लाखभन्दा धेरै गोर्खा समग्र पूर्वोत्तर राज्यहरूबाट खेदिए। त्यतिबेला केन्द्रीय सरकारमा कांग्रेस थियो, सबै पूर्वोत्तर राज्यहरूमा कांग्रेसको नै सरकार थियो। गोर्खाहरूको सुरक्षा निम्ति कांग्रेसले केही पनि गरेन।

दार्जीलिङ गोर्खा हिल काउन्सिल (डीजीएचसी) गठन

उत्तरपूर्वी राज्यहरूमा गोर्खाहरू असुरक्षित रहेको प्रत्यक्ष देखेर स्वर्गीय सुवास घिसिङज्युले गोर्खा जातिको किपट जोगाउन अलग राज्य गोर्खाल्याण्डको माग गरे। पहिलो गोर्खाल्याण्ड आन्दोलन १९८६-१९८८ मा भएको थियो, आधिकारिक आँकडाअनुसार १२०० गोर्खाहरू शहीद भए, अनाधिकारिक आँकडा अनुसार २००० भन्दा बेसी शहीद भए। त्यति बेला कांग्रेस नै केन्द्रमा सत्तासीन थियो, तिनीहरूले के गरे?

तिनीहरूले गोर्खाल्याण्ड आन्दोलनलाई दबाए, अनि सुवास घिसिङज्यूलाई डीजीएएचसी स्वीकार गर्न बाध्य गरे। तिनीहरूले गोर्खाहरूलाई धोखा दिए। कांग्रेसले त्यति बेला गोर्खाहरूलाई ज्योति बसु विरुद्ध प्रयोग गरेको थियोl आज धेरैले यो बिर्सेको जस्तो लाग्छ अनि उनीहरु फेरी त्यहि कांग्रेस र सीपीआईएमको हात समाउन पुगेका छन्। केही मान्छेहरू दावी गर्दै छन् कि कांग्रेसले  युटीको प्रस्ताव दिएको थियो, मैले सरकारी रेकर्डहरू जाँच गरेर हेरेँ, त्यस्तो कुनै प्रस्ताव दिइएको थिएन।

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) गठन

२००७-११ को गोर्खाल्याण्ड आन्दोलनको बेलामा कांग्रेस सत्तामा थियो। तिनीहरूका साझेदार गठबन्धन पार्टी सीपीआईएम पश्चिम बङ्गालमा सत्तामा थियो। अनेकौं गोर्खाहरू शहीद भए, हजारौं गोर्खाहरूलाई गिरफ्तार गरे, सास्ती दिए – उनीहरूको जीवन बर्बाद पारे। अनि एक चोटि फेरि कांग्रेसले जीटीए थाप्न लगाएर गोर्खाहरूलाई धोखा दियो। जीटीए के हो? यसको शक्ति त डीजीएचसी भन्दा पनि कम छ, यो हाम्रो गोर्खा जातिलाई कांग्रेसले दिएको अर्को धोखा हो।

असमका गोर्खाहरुको प्रताना

असममा कांग्रेसको संस्थापक एक गोर्खा छबिलाल उपाध्यायज्यु हुनुहुन्थ्यो। कांग्रेसले के गऱ्यो? कांग्रेसले गोर्खाहरूलाई ट्राइबल बेल्ट्स एण्ड ब्लक्स ब्लक्समा संरक्षित वर्गको सूचीबाट हटायो। कांग्रेसले एक लाख भन्दा धेरै गोर्खालाई डाउटफुल भोटर्स (डी-भोटर्स) को सूचीमा राख्यो। कांग्रेसले गोर्खाहरूलाई फरेनर्स ट्रिब्युनाल सामु जान बाध्यो गऱ्यो। आज जसले कांग्रेसको गुणगान गर्दैछन् न, उनीहरूलाई सोद्धा हुन्छ –यो सत्य हो कि होइन भनेर? यी सबै कांग्रेसको सत्ता अन्तर्गत भएको इतिहास साक्षी छ।

यसको विपरित, हिमन्त विश्व सरमाज्यू मुख्यमन्त्री बन्ने बित्तिकै, भाजपाले गोर्खाहरूलाई डी-भोटर्स लिस्टबाट हटाउनुभयो। फरेनर्स ट्रिब्युनालमा गोर्खाहरू विरुद्ध दर्ज सबै केसहरूलाई खारेज गर्नुभयो। भाजपाले गोर्खाहरूलाई सबै छैटौं अनुसूची ट्राइबल एरियामा संरक्षित वर्गको रूपमा पुनर्स्थापित गऱ्यो।

आजसम्म, कांग्रेसले झुट्टो मात्रै बोल्दै आएको छ र गोर्खाहरूलाई धोखा नै दिँदै आएको छ। बङ्गालमा सत्तारूढ पार्टी, सीपीआईएम र कांग्रेसले मिलेर गोर्खा भोटलाई फेरी विभाजित गर्ने षडयन्त्र गर्दै केही स्वतन्त्र उम्मेदवार, अनि केही अन्य पञ्जीकृत राजनीतिक पार्टीहरूका उम्मेदवार खडा गरेका छन्। यस निर्वाचनमा भाजपाबाहेक अरू कसैलाई भोट दिनुको अर्थ टीएमसी-को पक्षमा भोट दिनु हो र गोर्खा विरोधी तत्वहरुको हात बलियो बनाउनु हो। टीएमसलाई फाइदा पुऱ्याउन गोर्खाहरू माझ विभाजन उत्पन्न गर्ने आईएनडीआईए-एलायन्सको षडयन्त्रमा नफँसी दिने आग्रह म जनता समक्ष राख्दछु।  हामी एकबद्ध भएर उभिए कसैले गोर्खा जातिमाथि आँखा उठाएर हेर्ने हिम्मत पनि गर्ने छैनन्।  आश्वस्त रहनुहोस्, माननीय प्रधानमन्त्री श्रीनरेन्द्र मोदीज्यूको नेतृत्वमा नै गोर्खाहरूले न्याय पाउनेछन्।

(नोट: यस लेखका लेखक दार्जीलिङ लोकसभा समष्टिका भाजपाका सांसद तथा २००४ लोकसभा चुनावका उम्मेदवार राजु बिष्ट हुन्, यस लेखमा लेखिएका सबै सामग्री उनको निजी विचार होl यस लेखका कुनै पनि तथ्य र विचारहरूमा द रिपब्लिक इण्डियन कुनै पनि रुपमा जिम्मेवारी छैन)         

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *