राजगञ्जको साहुडांगीमा ज्येष्ठ नागरिकले घरमै बसेर गरे मतदान
राजगञ्ज: लोकसभा चुनावको पहिलो चरण अप्रिल १९ देखि शुरु हुँदैछ। तर त्यसअघि राज्यमा घरेलु मतदान शुरु भएको छ । अप्रिल १९ मा कोचबिहार अलीपुरद्वार र जलपाईगुडी जिल्लामा पहिलो चरणको मतदान हुनेछ। अप्रेल ५ देखि घरघरमा मतदान शुरु भएको बताइएको छ। यो अप्रिल १४ सम्म चल्नेछ। जलपाईगुडीको राजगञ्ज ब्लकमा पनि घरेलु मतदान शुरु भएको छ। आजबाट केन्द्रीय बलसहित रिटर्निङ अफिसरहरू आफ्ना सहकर्मीसहित घरदैलोमा गएर मत सङ्कलन गर्न थालेका छन्। आज राजगञ्जको साहुडाँगी क्षेत्रमा ८५ वर्षभन्दा माथिका वृद्धवृद्धा र कम्तीमा ४० प्रतिशत अपाङ्गता भएका, पुलिस, दमकल, रेलवे कर्मचारीलगायत आकस्मिक सेवामा संलग्न व्यक्तिले मतदान गरिरहेका छन्। तर, घरबाटै भोट हाल्न चाहनेले पहिले नै आवेदन दिनुपर्नेछ। निवेदन स्वीकृत भएमा दुईजना निर्वाचन अधिकृत मतदान गर्न जानेछन्। जसमा रिटर्निङ अफिसर, भिडियोग्राफर र सेक्युरिटी गार्ड रहनेछन्।