लखनऊ: लखनऊको मैदानमा गुजरात टाइटन्सले सीजनको आफ्नो तेस्रो हारको सामना गर्नु पऱ्यो। आईपीएल २०२४-को २१औं म्याचमा आइतवार राति लखनऊ सुपर जाइण्ट्सले मार्कस स्टोइनिसको अर्द्धशतकको सहायताले २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनायो। जवाफमा गुजरात टाइटन्सको टीम १८.५ ओभरमा १३० रन बनाएर अलआउट भयो। पाँचौं म्याचमा तेस्रो हारको सम्मुखीन भएपछि गुजरातको टीम ४ पोइण्ट्सको साथ आईपीएल टेबलको सातौं स्थानमा रहन पुग्यो। यसरी लखनऊ सुपर जाइण्ट्स ६ पोइण्ट्सको साथ तेस्रो स्थानमा रहेको छ। म्याच हारेपछि गुजरात टाइटन्सका कप्तान शुभमन गिलले भने, यो ब्याटिंगको निम्ति राम्रो विकेट थियो तर हाम्रो ब्याटिंग खराब रह्यो। हामीले असल शुरुवात गरे पनि बीचमा विकेट गुमायौं। त्यसपछि म्याचमा फर्किन सकेनौं। हाम्रो बलिंग असाधारण थियो कारण हामीले उनीहरूलाई १६०-को छेउछाउमा रोक्यौं। हाम्रा ब्याटरहरूले चाहिँ निराश गरे। गिलले बताएअनुसार, उनलाई म्याचमा अनुभवी ब्याटर डेविड मिलरको कमी अनुभव भयो। उनले भने, मिलर जस्ता खेलाड़ीले केही ओभरभित्रै म्याचको रंग बद्लिन सक्छन् तर आज उनी खेल्न सकेनन्। यसले पनि फरक पऱ्यो। हामीलाई उनको कमी अनुभव भयो। पीच राम्रो भए पनि हामीले असल ब्याटिंग गर्न सकेनौं।
म्याचको कुरा गर्दा एकाना स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै लखनऊ सुपर जाइण्ट्सले ५ विकेटमा १६३ रन बनायो। अलराउण्डर मार्कस स्टोइनिसले ४ वटा चौका र २ वटा छक्काको साथ ४३ बलमा सर्वाधिक ५८ रन बनाए। यसबाहेक कप्तान केएल राहुलले ३३, निकोलस पूरनले अविजित ३२ र अयुष बडोनीले २० रनको योगदान दिए। गुजरातका बलरहरूमा उमेश यादव र दर्शन नालकण्डेले २-२ विकेट लिए। लक्ष्य ठूलो नभए पनि गुजरात टाइटन्स १३० रन बनाएर अलआउट भयो। साई सुदर्शनले ३१ र राहुल तेवतियाले ३० रन बनाए। शुभमन गिल (१९), केन विलियम्सन (०१) र विजय शंकर (१७)-ले केही खास गर्न सकेनन्। लखनऊका बलरहरूमा यश ठाकुरले सर्वाधिक ५ विकेट लिए। यसबाहेक क्रुणाल पाण्ड्याले पनि ३ विकेट हासिल गरे।