गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सुनौलो सिक्किमको अवधारणालाई साकार पार्न अनि सिक्किम र सिक्किमेली जनताको भाग्य र भविष्य निर्माण गर्न एसकेएम पार्टीलाई लगातार जनसमर्थन प्राप्त भइरहेको छ। बितेको पाँच वर्षमा पार्टी अध्यक्ष तथा निवर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङको परिकल्पनामा राज्य प्रगतिको पराकाष्ठा पुगेपछि जनता एसकेएम पार्टीप्रति प्रेरित छन्। पार्टीको नीति, सिद्धान्त र सिक्किमप्रतिको समर्पण देखेर विपक्षी पार्टीका शीर्ष तथा वरिष्ठ नेताहरू समेत एसकेएम पार्टीमा प्रवेश गर्नेक्रम जारी रहेको छ। यसै क्रममा आज नाम्थाङ रातेपानी निर्वाचन क्षेत्रबाट एसडीएफ नेता तथा सदस्यहरू कूल १५ जनाले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा सामेल भएका छन्। आज पार्टीमा सामेल हुनेहरूमा पूर्व मन्त्री तथा समष्टि विधायक तिलु गुरूङ, सीएलसी अध्यक्ष तथा पूर्व पञ्चायत टीबी गुरूङ, सीएलसी सल्लाहकार डीके प्रधान लगायत कूल १५ जना रहेका छन्। आज पार्टी अध्यक्ष श्री प्रेमसिंह तामाङले पनि उनीहरूलाई पार्टीमा स्वागत गर्दै समावेशी नीति अवलम्बन गरेको सिक्किम क्रान्तिकारी मोर्चा पार्टी नयाँ सदस्यहरू सबैलाई सहर्ष स्वागत जनाए।