आईपीएलमा जीतको खाता खोल्यो मुम्बई इण्डियन्सले

IMG-20240407-WA0197.jpg

मुम्बई: ईनिंग्सको शुरुवात र अन्तमा विध्वंशी ब्याटिंगपछि गेराल्ड कोएत्जीको घातक बलिंगको सहायताले लगातार तीनवटा हारपछि मुम्बई इण्डियन्सले अन्तमा गएर आईपीएल २०२४-मा जीतको खाता खोल्यो। आइतवार खेलिएको म्याचमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई २९ रनले पराजित गऱ्यो। आफ्नो घरेलु मैदान वानखेड़े स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै मुम्बई इण्डियन्सले २० ओभरमा ५ विकेटमा २३४ रन बनायो। विशाल लक्ष्यलाई पछ्‌याउँदै दिल्ली क्यापिटल्सले ट्रिस्टन स्टब्स (अविजित ७१) र ओपनर पृथ्वी साव (६६)-को लड़ाकू प्रयासपछि पनि २० ओभरमा ८ विकेट गुमाएर २०५ रन मात्र बनाउन सक्यो। दिल्ली क्यापिटल्सको शुरुवात असल रहेन अनि अनुभवी ओपनर डेविड वार्नर केवल १० रन बनाएर चौथो ओभरमै आउट भए। केवल २२ रनमा वार्नर आउट भएपछि पृथ्वीले अभिषेक पोरेल (४१ रन)-सँग मिलेर स्थिति सम्हाल्ने प्रयास गरे। यी दुईले दोस्रो विकेटको निम्ति ८८ रनको पार्टनरशीप गरे। पृथ्वीले ४० बल खेलेर ८ वटा चौका र ३ वटा छक्का लगाए। यी दुईजना आउट भएपछि स्टब्सले जिम्मेवारी लिएर खेले पनि अरू सबै भटाभट आउट भए। कप्तान रिषभ पन्त १ र अक्षर पटेल ८ रन बनाएर पभेलियन फर्किए। स्टब्सले अन्तसम्म प्रयास गरे पनि मुम्बई इण्डियन्सलाई सीजनको पहिलो जीत हासिल गर्नदेखि रोक्न सकेनन्। स्टब्सले २५ बल खेलेर ७ वटा छक्का र ३ वटा चौका लगाए। मुम्बई इण्डियन्सका बलरहरूमा कोएत्जीले ४ र जसप्रीत बुमराहले २ विकेट हासिल गरे।

म्याचमा टस हारेर पहिला ब्याटिंग गर्ने मुम्बई इण्डियन्सलाई रोहित शर्मा र ईशान किशनले आक्रामक शुरुवात दिलाए। यी दुईले पहिलो विकेटको निम्ति ४२ बलमा ८० रनको पार्टनरशीप गरे। रोहितले ६ वटा चौका र ३ वटा छक्काको साथ २७ बल खेलेर ४९ रन बनाए। यसरी किशनले २३ बल खेलेर ४ वटा चौका र २ वटा छक्काको साथ ४२ रन बनाए। पछिबाट अक्षर पटेलले यी दुईलाई आउट गरेपछि मुम्बई सामान्य दबाउमा परेको थियो। मध्यक्रममा कप्तान हार्दिक पाण्ड्याले ३९ रन बनाए पनि आईपीएलमा फर्किने सूर्यकुमार यादव (शून्य) र तिलक वर्मा (६)-ले प्रशंसकहरूलाई निराश गरे। यस्तो समयमा टिम डेविड (अविजित ४५) र रोमारियो शेफर्ड (अविजित ३९)-ले अन्तिम ओभरहरूमा विध्वंशी ब्याटिंग गर्दै स्कोर २३४ रनसम्म पुऱ्याए। मुम्बई इण्डियन्सले अन्तिम ५ ओभरमा ९६ रन बनाए। प्लेयर अव् द म्याच रहने शेफर्डले १० बल खेलेर ४ वटा छक्का र ३ वटा चौका लगाए जबकि डेविडले २१ बल खेलेर ४ वटा छक्का र २ वटा चौका लगाए। शेफर्डले बलिंग गर्दै वार्नरको विकेट पनि लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement