काठमाडौँ महानगरपालिकामा शुरु भयो गरीब गणना

IMG-20240407-WA0010

झापा, भद्रपुर (नेपाल): काठमाडौँ महानगरपालिकाभित्र गरीब घरपरिवार गणना आज (७ अप्रेल)देखि शुरु भएको छ। गरीब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार काठमाडौँ महानगरपालिका भित्रका गरीब घरपरिवार गणना गर्न लागिएको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता एवं सहसचिव गणेशप्रसाद भट्टका अनुसार सरकारले ४९ जिल्लामा गरिब घरपरिवारको परिचयपत्र बाँडिसकेको छ भने १५ जिल्लामा परिचय पत्र बाँड्ने तयारी भइरहेको छ। बाँकी १३ जिल्लाका काठमाडौँ महानगर बाहेक सबै पालिकामा गरीब घरपरिवारको गणना सम्पन्न भइसकेको छ। काठमाडौँ महानगरपालिकाभित्र गणना सकिएपछि देशभर नै गरीब परिवारको गणना सम्पन्न हुनेछ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता भट्टले काठमाडौँ महानगरपालिकाले गरीब घरपरिवारको गणना गर्ने र त्यो तथ्यांक प्रोसेसिङको काम मन्त्रालयले गर्ने बताए। त्यसपछि गरिब घरपरिवारको परिचयपत्र वितरण गरिन्छ र त्यो परिचयपत्रको आधारमा उनीहरुले सरकारबाट पाउने विभिन्न सेवा सुविधा पाउँछन्,’ प्रवक्ता भट्टले भने। गरीब तथ्याङ्क संकलनको काम २०७० सालमा २३ वटा जिल्लाबाट शुरु गरिएको थियो। हरेक ५ वर्षमा गरीब परिचय पत्र नवीकरण गराउनुपर्ने कानुनी व्यवस्था भए पनि अहिलेसम्म कसैको पनि नवीकरण गरिएको छैन।

काठमाडौँ महानगरपालिकाभित्र गरिब पहिचान गर्न २०९ जना गणक र २१ जना सुपरिवेक्षक खटिएका छन्। काठमाडौँ महानगरपालिकाका तथ्याङ्क अधिकृत कृष्णराज तिवारीका अनुसार १ जना गणकले १ महिनामा २५० जना घरपरिवारको तथ्याङ्क संकलन गर्ने गरी समय र जनशक्ति व्यवस्थापन गरिएको छ। सबैभन्दा धेरै गणक वार्ड नं. १६ र ३२ मा २१/२१ जना खटाइएको छ। उनीहरुले ट्याब्लेटमा विभिन्न विवरणहरु भर्दै तथ्यांक संकलन गर्नेछन्। त्यसका लागि गत मंगलबारदेखि चार दिनसम्म उनीहरुलाई काठमाडौँ महानगरपालिकाले तालिमसमेत दिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement