एसडीएफ पार्टीको चुनाउ घोषणा पत्र जारी

n5983003521712505121161d9ec0dce18d8c8e810a4a2e4f8de8d4466b5dc84c7c676f2a2122bc0fed8aa46.jpg

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले आज दक्षिण सिक्किमको राङगाङ याङगाङ समष्टिको कारूङमा आयोजित चुनावी जनसभामा पार्टीको चुनाउ घोषणा पत्र जारी गऱ्यो।

पार्टी अध्यक्ष पवन चामलिङ, लोकसभा उम्मेदवार पीडी राई अनि राङगाङ याङगाङका उम्मेदवार एमके सुब्बासहित वरिष्ठ नेतृत्वगणले २०२४ को चुनाउ घोषणा पत्र राज्यका जनतालाई समर्पित गरे।

आफ्नो सम्बोधनमा पार्टी अध्यक्ष पवन चामलिङले घोषणा पत्रमा जनतालाई दिएका सबै वाचा आउने सरकारमा पूरा गर्ने वचन दिए। चामलिङले भने, भालेढुङ्गाको स्काईवाक् एसियाको दोस्रो सबैभन्दा ठूलो स्काईवाक् हुनेछ। स्काईवाक् शुरू भएपछि यहाँ प्रतिदिन हजारौं टुरिस्टहरू घुम्न आउनेछन्। यहाँ अवसरै अवसर सिर्जना हुनेछ।

उनले भने, अहिले जनताको घर बनाउँदा नाफा एसकेएमका नेताहरूले खाँदैछन्। हाम्रो सरकार आएपछि जनताले आफै आफ्नो घर बनाउनेछन्, हामी जनताको ब्याङ्क खातामा बीस लाख रुपियाँ हालिदिनेछौं। आउँदो सरकार भ्रष्टाचारमुक्त सरकार हुने बताउँदै उनले भने, यसमा हामी विश्व रेकर्ड कायम गर्नेछौं। शान्तिलाई पनि सुरक्षा चाहिन्छ, विकासलाई पनि सुरक्षा चाहिन्छ र सुरक्षालाई पनि सुरक्षा चाहिन्छ भन्दै उनले भने, बजेट बनाउनअघि हामी जनताबाट सुझाउ माग्नेछौं।

उनले भने, सिक्किम र सिक्किमे जनताको ठूलो जिम्मेवारी बोधले मलाई राजनीतिमा सक्रिय गराएको छ। एसकेएम सरकार जस्तो जनताको घरमा ढुङ्गा हान्ने सरकार विश्वमा कही कतै छैन। मुख्यमन्त्रीले मेरो टिम तयार छ, घर घर घुसेर ठीक पार्छु भन्छन्। सिक्किममा आज जति पनि हत्या हिंसा र अशान्ति भएको छ, त्यो सबै एसकेएम सरकारको निर्देशनमा भएको चामलिङले आरोप लगाए।

चामलिङले भने, हाम्रो पार्टीले राज्यका युवाहरूका लागि रोजगारीको अवसर सिर्जना गर्न मेगा इम्प्लयमेन्ट स्कीम लिएर आएको छ। सिक्किमका युवाहरूका लागि सधैं-सधैंभरि पुग्ने गरी काम-धन्धाको विकास गर्न र सबैको हात-हातमा काम-धन्धा र नोकरी दिलाउन सिक्किममा मेगा इम्प्लयमेन्ट स्कीम लागू गर्ने हामी वचन दिन चाहान्छौं। उनले भने, मेगा इम्प्लयमेन्ट स्कीमबाट युवावर्गले डाइरेक्ट बेनिफिट पाउनेछन्।

जनसभालाई सम्बोधन गर्दै लोकसभा उम्मेदवार पीडी राईले आफू सांसद बनेकै दिनदेखि सिक्किमको हितमा काम गर्ने वचन दिए। उनले भने, म मेरो ज्ञान र अनुभवको सदुपयोग गर्नेछु, सिक्किमका सबै विषयलाई सही तरिकाले उठाएर सिक्किमेको शीर ठाडो गर्नेछु।

राङगाङ याङगाङ उम्मेदवार एमके सुब्बाले मतदाताहरूलाई मतदानको आग्रह गर्दै भने, हामीले हाम्रा छोरा छोरीको भविष्य सुरक्षित राख्नुपर्छ। एसकेएम पार्टीसित सिक्किमका युवाको भविष्य सुरक्षित नरहेको दाबी गर्दै सुब्बाले एसडीएफको सिक्किम बचाऔं अभियानलाई साथ दिन अपील गरे।

सभालाई विद्यार्थी मोर्चा महासचिव उर्वशी खालिङ, युवा नेता मिलन गौतम, सुनिल मालेकुङ, रवीन बस्नेत अनि प्रवक्ता सीपी ढकालले पनि सम्बोधन गरेको एसडीएफद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement