गान्तोक: भारतीय फूटबलका पूर्व कप्तान भाइचुङ भुटियाले सिक्किमका जनता २०२४ सिक्किम विधानसभा चुनावमा एसकेएम सरकारलाई विदाइ गर्न तयार रहेको दाबी गरेका छन्। ‘एसकेएम झूट बोकेर सरकारमा आयो र झूट बोलेर पाँच वर्ष सरकारमा बितायो। उनीहरूले पाँच वर्षसम्म केही गरेनन् र निर्वाचनको एक महिनाअघि नै मनमानी ढंगले सुविधा, आवास बाँडफाँड र नोकरी बाँड्न थाले। एसकेएम सरकारअन्तर्गत सिक्किमलाई ‘सुकौरो‘ बनाइयो। त्यसैले १९ अप्रेल मतदानको दिनमा एसकेएमलाई बिदाइ गर्नुपर्छ, जनता गोले सरकारलाई विदा भन्न तयार छन्’, बाइचुङले शनिबार भने।
बारफुङ निर्वाचन क्षेत्रका लागि राबोङ्गला बजारमा एसडीएफका अध्यक्ष पवन चाम्लिङ, लोकसभा उम्मेदवार पीडी राई र पार्टीका कार्यकर्ताहरुको उपस्थिति रहेको एसडीएफको चुनावी प्रचारसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। बाइचुङ बारफुङ निर्वाचन क्षेत्रबाट एसडीएफका उम्मेदवार पनि हुन्। ‘म बारफुङ निर्वाचन क्षेत्रको भ्रमण गरिरहेको छु र जनता यहाँबाट एसकेएम विरुद्ध गोल गर्न तयार छन्। २०२४ को चुनावमा एसडीएफले सिक्किमभर एसकेएमविरुद्ध ३२ गोल गर्दैछ। मानिसहरूले २०१९ मा ‘परिवर्तन‘ को मौका दिए तर अब उनीहरूले महसुस गरेका छन् कि एसएकएम सरकारले सिक्किमलाई १०-१५ वर्ष पछाडि लगेको छ’, उनले भने।









