सिलगढी: मानव उत्थान सेवा समिति सिलगढी तहसीलको तत्वावधानमा हंसबेला आश्रम सिलगढीमा माता राजराजेश्वरी देवीको जन्म जयन्तीको उपलक्ष्यमा दार्जीलिङ मोडस्थित चेतना केन्द्रका एक सयभन्दा धेर कुष्ठरोगीहरूलाई भोजन बितरण गरेका थिए। महात्मा अदिना बाईजीको नेतृत्वमा मानव उत्थान सेवा समिति र मानव सेवा दलका स्वयंसेवक सेविकाहरूले श्री हंसबेला आश्रममा नै विभिन्न परिकारका शुद्ध शाकाहारी भोजन बनाएर ती कुष्ठरोगी एवम् उनीहरूका परिवारलाई वितरण गरेका थिए। राजेश्वरी माताजीको जन्मजयन्तीको उपलक्ष्यमा श्री हंसबेला आश्रममा दिउँसो १ बजीदेखि सत्संग समारोह पनि सम्पन्न भएका थियो। सत्संग समारोहलाई महात्मा अदिना बाईजी, महात्मा केशव बाईजी, महात्मा देवा बाईजी, महात्मा दक्षिणा बाईजी, महात्मा अवोध बाईजी, महात्मा दीक्षा बाईजी, महात्मा अवोध बाईजी, महात्मा महेश्वरी बाईजी, महात्मा प्रिया बाईजीले सम्बोधन गर्दै श्री माताजीले आफ्ना जीवनकालमा दिनुभएका सामाजिक- आध्यात्मिक योगदानहरूको स्मरण गर्दै नारीहरूले आध्यात्मिक ज्ञानलाई ग्रहण गरेमा आफ्ना छोरा- छोरीहरूलाई आध्यात्मिक संस्कार दिन सहयोग हुने कुरो सम्झाइन्। राजेशरी देवीको जन्मदिनको उपलक्ष्यमा केही युवाहरूलाई महात्मा देवा बाईजीले आत्मा ज्ञानका क्रियात्मक दीक्षा पनि दिएकी थिईन्। माताजीले आफ्नो जीवनकालमा नै आफ्ना ज्येष्ठ सुपुत्र श्री सतपाल महाराजलाई गुरु गद्दी प्रदान गरेकी थिईन्। आज माताजीकै असीम आज्ञा र अनुकम्पाद्वारा श्री महाराजजी विश्वका सम्पूर्ण प्रान्तका मानिसहरुमा आत्मज्ञानको प्रचार-प्रसारको लागि प्रयासरत रहेको कुरो सन्तहरूले बताए। यस अवसरमा बाल सभाका कलाकारहरूले माताजी चालिसा, विभिन्न भाषामा भजनहरू, नाटक, नृत्य आदि प्रस्तुत गरेका थिए। यस अवसरमा केही वृद्धा आमाहरुलाई सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै समितिको तर्फबाट सम्बर्द्धना र उपहारहरू पनि प्रदान गरेका थिए। समारोहमा समितिको सिलगढी, बिजयनगर तहसील अन्तर्गतका सम्पूर्ण शाखाहरूबाट भागवत भक्तजन धेरै संख्यामा उपस्थित रहेका थिए। सत्संग समारोहलाई शिक्षक श्यामरतन साहुले सञ्चालन गरेका थिए।










