खरसाङ: नमस्ते कविश्री प्रतियोगिता सिजन एकको उपाधि मङ्पु निवासी कवि सन्दीप दियालीले जितेका छन्। नमस्ते खरसाङको आयोजनामा सम्पन्न नमस्ते कविश्री सिजन एकको ग्राण्ड फिनाले आज खरसाङको गोर्खा जनपुस्ताकालय भवनमा सम्पन्न भयो। उक्त प्रतियोगितामा छजना कविहरू क्रमैले मङ्पुका सन्दीप दियाली, लङ्भ्यु निवासी छोईसाङ लामा, सोनादा निवासी बुध्द राई, घुम्ती चियाबारी निवासी धिराज छेत्री, नरबुङ चियाबारी निवासी कल्पना देवान, मध्य मामरिङ निवासी रोमिसा भुजेल आदिले आफ्ना प्रस्तुतिहरू दिएका थिए। यस नमस्ते कविश्री प्रतियोगितामा महानिर्णायकको रूपमा डा रेमिका थापा उपस्थित थिए भने निर्णायकगणमा डा योगेस खाती, स्रष्टा सञ्जीव छेत्री र डा सपन प्रधान उपस्थित रहेका थिए। कार्यक्रमलाई पत्रकारद्वय सुवास छेत्री र हनोक थापाले सञ्चालन गरेका थिए। कार्यक्रमको शुरुमा गोर्खा जनपुस्ताकालय खरसाङको अध्यक्ष पूर्ण गुरुङ निरूपम, साहित्य अकादमी नेपाली भाषा परामर्श समितिको सदस्या आशा मुखिया लामा, वरिष्ठ कलाकार विनोद प्रकाश शर्मा, समाजसेवी टीटी लामा, अधिवक्ता रमेश अग्रवाल आदिले माता सरस्वतीको तस्वीरमा धुप दिप प्रज्वलन गरी थालिएको कार्यक्रममा छजना कविहरूले पालैपालो आफ्नो प्रस्तुति दिएका थिए। यसको साथै आयोजक समितिले दिएको विषयमा छजना प्रतियोगीहरूले तत्काल कविका लेखेर वाचन पनि गरेका थिए। उक्त नमस्ते कविश्री प्रतियोगितामा अनलाइन भोटिङ, दर्शकहरूबाट भोटिङ, निर्णायकहरूबाट अंक साथै महा निर्णायकबाट पनि अंक प्रदान गरिएको थियो। यसको आधारमा नमस्ते कविश्री प्रतियोगिता सिजन एकको विजेता कवि सन्दीप दियाली बनेका छन् भने उप विजेता लङ्भ्यु निवासी छोईसाङ लामा, तेस्रो जोरखोला सोनादा निवासी बुध्द राई भएका छन्। त्यसरी नै घुम्ती चियाबारीका धिराज छेत्री चौथो, मध्य मामरिङ निवासी रोमिसा भुजेल पाँचौं र नरबुङ निवासी कल्पना देवान भएका छन्। कार्यक्रममा विजेतालाई ट्रफिसहित नगदराशि दश हजार, दोस्रो हुनेलाई ट्रफिसहित नगदराशि सात हजार, तेस्रो हुनेलाई ट्रफीसहित पाँच हजार नगदराशि लगायत चौथो, पाँचौ र छैटौं हुनेलाई पनि ट्रफीसहित नगदराशि प्रदान गरिएको छ। कार्यक्रममा कविहरूले संगीतसितै प्रस्तुति दिएका थिए। यस कार्यक्रममा संगीत प्रस्तुतिमा संगीतकार महेश्वर लामा, उपेन्द्र प्रधान, रुपेस रसाईली र सुरज गजमेरले सहयोग गरेका थिए। नमस्ते कविश्री प्रतियोगिता सिजन एकको सल्लाहकार समितिमा प्रकाश प्रधान, विनोद रसाइली, दिपक ठटाल जलन, उमेश कार्कीढोली पनि उपस्थित रहेका थिए।

कार्यक्रममा नमस्ते खरसाङका प्रबन्ध निर्देशक निर्मल गुरुङले धन्यवाद ज्ञापनसितै कार्यक्रमको उद्देश्य र औचित्य विषयमा जानकारी गराएका थिए। कार्यक्रममा नमस्ते खरसाङको तर्फबाट खरसाङको उजेरी बस्तीस्थित श्री श्री सातकन्या देवी एवं कात्यानी देवीधामको संरक्षण समितिको सदस्यहरूलाई सम्बर्ध्दना जनाइएको छ। आजको नमस्ते कविश्री प्रतियोगिता सिजन एकको विषयमा सल्लाहकार समितिको सदस्य एंव गोर्खा जनपुस्ताकालय खरसाङको मूल सचिव विनोद रसाइलीले विस्तृत रुपमा जानकारी गराएका छन्। त्यसरी नै नमस्ते कविश्री प्रतियोगिताके विजेता सन्दीप दियाली, दोस्रो छोईसाङ लामा र तेस्रो बुध्द राईले पनि धन्यवाद दिएका छन्।