नयाँ दिल्ली। सिक्किमको मुख्यमन्त्री प्रेमसिंह तामाङ राष्ट्रिय राजधानी दिल्लीमा आयोजित ४७औं राज्य दिवस समारोहमा सहभागी बनेर शुक्रवार सिक्किम फर्किआएका छन्। नयॉं दिल्लीको मोतीबागमा आयोजित उक्त कार्यक्रममा केन्द्रिय पर्यटन, संस्कृति एवं डोनर मन्त्री जी. कृष्ण रेड्डी मुख्य अतिथि थिए। मुख्यमन्त्रीले डोनर राज्य मन्त्री बीएल वर्मासॅंग पनि भेट गरेका थिए।
मुख्यमन्त्रीको निर्देशनमा सिक्किमलाई पोस्टर, ब्यानर र अन्य पहलहरूको माध्यमद्वारा राष्ट्रिय अनि अन्तरराष्ट्रिय स्तरमा ब्राण्डको रूपमा प्रवर्द्धन गर्ने प्रयासहरू गरिएको बताइएको छ। आज बागडोगरामा मुख्यमन्त्री तामाङले केन्द्रिय अल्पसंख्यक मामिला राज्य मन्त्री जोन बारलासॅंग पनि भेट गरे तथा सिक्किमको तर्फबाट न्यानो अभिवादन व्यक्त गरे।
मुख्यमन्त्रीको साथमा सिक्किम सरकारका मन्त्रीहरू पनि थिए। बागडोगरामा मुख्यमन्त्रीका प्रेस सचिव बिकास बस्नेत, आईटी विभागका चेयरमेन नवराज गुरूङ तथा अन्य अधिकारीहरूले स्वागत जनाए।