आफ्नो गुरुलाई सम्मान गर्नु ठूलो कुरा हो: विन्ध्या सुब्बा
सालबारी: वरिष्ठ साहित्यकार, शिक्षाविद् एंव तीनधारेका पूर्व शिक्षक हस्त नेचालीको अभिनन्दन ग्रन्थ ‘गुरु दक्षिणा -श्री हस्त नेचाली अभिनन्दन ग्रन्थ’को लोकार्पण गरिएको छ। उक्त अभिनन्दन ग्रन्थ सालबारीको समाज सेवा भवनमा सम्पन्न एक कार्यक्रमबीच लोकार्पण गरिएको छ। उक्त लोकार्पण कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार डा. जीवन नामदुङले गरेका थिए भने प्रमुख अतिथिको रुपमा वरिष्ठ नारी स्रष्टा विन्ध्या सुब्बा उपस्थित रहेका थिए। उक्त अभिनन्दन ग्रन्थ सभाध्यक्ष डा. जीवन नामदुङ प्रमुख अतिथि विन्ध्या सुब्बा, विशिष्ट अतिथिहरू क्रमैले वरिष्ठ साहित्यकार मदन ओझा, डा. कृष्णराज घतानी, तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री र स्वयं हस्त नेचाली आदिको बाहुलीबाट लोकार्पण गरिएको छ।

युवराज सुन्दास र डा. अमीर दर्जीद्वारा सम्पादित गुरू दक्षिणा श्री हस्त नेचाली अभिनन्दन ग्रन्थ लोकार्पण समारोहमा स्वागत सम्भाषण हस्त नेचालीकै पूर्व विद्यार्थी उत्तम शर्माले राखेका थिए। गुरू दक्षिणा भूतपूर्व विद्यार्थी समूह तीनधारेको आयोजनामा सम्पन्न उक्त लोकार्पण कार्यक्रममा कवि मिलन प्रधानद्वारा कविता, कुबीर प्रधानद्वारा गीत वाचन गरेका थिए भने बरूण रसाईलीद्वारा गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा अभिनन्दन ग्रन्थमा रचना लेख्ने रचनाकारहरू, सम्पादकद्वय युवराज सुन्दास र डा. अमीर दर्जीलाई प्रकाशन पक्षबाट सम्मान जनाइएको छ। यसै क्रममा हस्त नेचालीलाई उपस्थित अतिथिहरू र पूर्व विद्यार्थीहरूले सम्मान जनाएका थिए।

कार्यक्रममा प्रमुख अतिथि विन्ध्या सुब्बाले आफ्नो सम्बोधनमा हस्त नेचालीले तीनधारेमा लामो समय सेवा दिएको र तीनधारेलाई कर्म थलो बनाएको बताइन्। उनले हस्त नेचालीले तीनधारेमा साहित्य, कला, सामाजिक कार्य, खेलकूद क्षेत्रमा धेरै कार्य गरेर बहुमुल्य योगदान दिनु भएको जनाइन्। सुब्बाले उनले दिएको योगदानले गर्दा नै आज पूर्व विद्यार्थीहरूका समूहले सम्मान गरेको छ जुन तीनधारेको लागि ठूलो कुरा हो भनी बताइन्। प्रमुख अतिथि विन्ध्या सुब्बाले तीनधारे क्षेत्रमा योगदान दिने विशिष्ट व्यक्तिहरूमा हर्क योञ्जन ‘बिरही’, असीत राई र हस्त नेचाली मुख्य रहेको बताउँदै उनीहरूको योगदानले गर्दा तीनधारेमा साहित्यिक वातावरण तयार भएको साथै साहित्यिक संघ संस्थाहरू विभिन्न पत्र पत्रिकाहरू प्रकाशित भएको बताएका छन्। उनले दक्षिणा भन्ने शब्द कतै सरलाई सानो भयो कि भन्दै यहाँ गुरु दक्षिणास्वरूप गुरुलाई सम्मान गर्नु ठूलो कुरा रहेको बताइन्। कार्यक्रममा विशिष्ट अतिथि डा. कृष्णराज घतानीले हस्त नेचालीसितको सम्बन्ध विषयमा बताउँदै यो गुरु दक्षिणा मात्र नभएर गुरु महिमा पनि हो भनी बताएका छन्। कार्यक्रममा सभाध्यक्षको रूपमा बोल्दै डा. जीवन नामदुङले हस्त नेचालीले तीनधारेलाई ३६ वर्षको लामो समय दिएको बताउँदै तीनधारेमा केही कमी छैन। तीनधारेमा सबै छन् र तीनधारे आफ्नै बलबुतामा सशक्त भएर अघि बढेको बताएका छन्। उनले हस्त नेचाली अभिनन्दन ग्रन्थ प्रकाशित गरेर पूर्व विद्यार्थीहरूले राम्रो काम गरेको बताएका छन्।

कार्यक्रममा सम्पादकको पक्षमा युवराज सुन्दास र प्रकाशकको पक्षमा निरा सुब्बा नेचालीले वक्तव्य राखेका थिए। कार्यक्रममा हस्त नेचालीले पनि वक्तव्य राखेका थिए भने धन्यवाद ज्ञापन देवदत्त प्रधानले राखेका थिए। कार्यक्रमलाई युवराज सुन्दासले सञ्चालन गरेका थिए। हस्त नेचालीले तीनधारेमा सन् १९७० देखि २००६ सम्म साहित्य, कला, नाटक, संस्कृति, सामाजिक र खेलकूद क्षेत्रमा महत्वपूर्ण योगदान दिएका थिए। उनले तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा सन् १९९८ सम्म शिक्षकको रूपमा कार्य गरेका थिए।