कोलकाता: जलपाईगढीको जनसभामा मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यका महिलाहरूलाई लक्ष्मी भण्डारको बारेमा विशेष जानकारी दिइन्। उनले यस योजनाअन्तर्गत महिलाको ब्यांक खातामा पैसा पठाउने गरेको बताइन्। राज्यमा पहिलो चरणको मतदान १९ अप्रेलमा हुनेछ। त्यस दिन जलपाईगढीमा पनि मतदान हुँदैछ। एक सार्वजनिक र्यालीमा मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ‘लक्ष्मी भण्डार योजनाअन्तर्गत आमा र दिदीबहिनीहरूले नयाँ तरिकाले फाइदा पाउन थालेका छन्। पाँच सयको सट्टा एक हजार दिइनेछ। धेरैको खातामा पैसा गएको छ भने बाँकी धेरैको खातामा रकम ट्रान्सफर भइरहेको छ। खातामा पैसा नआएकाले पनि पाउनेछन्।‘ वृद्ध महिलाहरूका लागि ठूलो घोषणा गर्दै मुख्यमन्त्रीले ६० वर्षभन्दा माथिका महिलालाई पनि राज्य सरकारले पेन्सन दिने बताइन्। मुख्यमन्त्रीले अझ भनिन्, ‘यो योजना उनीहरूको (केन्द्रको) योजना होइन तर हाम्रो योजना हो। राज्य सरकारले घोषणा गरेपछि महिलाहरूको खातामा लक्ष्मी भण्डारबाट पैसा आउन थालेको छ।’