गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमले जूम सालधारी र मानेबुङ देन्ताममा पार्टी कार्यकर्ताहरूमाथि भएको कथित प्राणघातक हमलाको घोर भत्सर्ना जनाउॅंदै खण्डन गरेको छ। प्रदेश भाजपाले उक्त हमलाकाण्डहरूमा एसकेएम पार्टीका कार्यकर्ताहरूको हात रहेको आरोप पनि लगाएको छ।
राजधानीस्थित प्रदेश भाजपाका कार्यालयमा आज आयोजित एक संवाददाता सम्मेलनमा पार्टी पदाधिकारीहरूले यस्तो आरोप लगाए। लोकसभा चुनाउका राज्य प्रभारी डा. राजु गिरीले हिजो जूम सालघारीको सवाली गाउॅंमा भाजपा कार्यकर्ता सुमन राईमाथि एसकेएम कार्यकर्ताहरूले प्राणघातक हमला गरेको आरोप लगाए। भाजपाको झण्डा फेर्न नमान्दा उनले कुटाई खाएको उनले बताए।
डा. गिरीले भाजपा राजनीतिक हिंसाको कड़ा भत्सर्ना जनाउॅंद छ भन्दै आरोपीहरू विरूद्ध प्राथमिकी दर्ता गरिएको र उनीहरू विरूद्ध कारबाही पनि शुरू भइसकेको बताए। उनले राज्यमा यस्ता हिंसात्मक गतिविधिहरूका कारण जनता त्रसित छन् भन्दै यस्तो स्थितिमा स्वतन्त्र अनि निष्पक्ष चुनाउको अपेक्षा कसरी गर्न सकिन्छ भनी प्रश्न गरे।
उनले उक्त घटनाको जानकारी हिजो नै हाई कमानमा गरिएको र चुनाउ आयोगमा पनि शिकायत गरिएको अवगत गराए। भाजपाले राज्यमा हिंसा हुन दिने छैन भन्दै राज्यवासीको सुरक्षा सुनिश्चित गर्न अतिरिक्त केन्द्रिय बल तैनात गरिएको उनले थप जानकारी गराए। उनले आवश्यकता परेको खण्डमा अझ केन्द्रिय बल तैनात गरिने पनि बताए।
यसैगरी, पार्टी प्रवक्ता डीआर गिरीले हिजो मानेबुङ देन्तामका भाजपा उम्मेदवार एनके सुब्बाका चुनाउ एजेन्ट डीएस गुरूङमाथि पनि हमला भएको छ भने। उनले राज्यमा लगातार आपराधिक घटना बढिरहेको बताउॅंदै प्रशासन मास्टर माइन्डलाई पक्राउ गर्न किन विफल छ भनी प्रश्न गरे। उनले आगामी चुनाउमा राज्यवासीहरूले आफ्नो मताधिकार स्वतन्त्र रूपमा प्रयोग गर्न पाउन्, यस कारण थप केन्द्रिय बलहरू तैनात गरिएको बताए।
यसरी नै भाजपा नेता सोनाम शेर्पाले पुलिस प्रशासनमाथि भेदभावको आरोप लगाए। उनले सिक्किम एउटा शान्ति राज्य रहेको, तर अहिले राज्यवासीहरूको सुरक्षाको निम्ति केन्द्रिय सुरक्षा बल तैनात गर्नु परिरहेको छ भने। अर्कोतिर, उनले गाउॅं-घरमा एसकेएम पार्टीले भोट फकाउन जनतालाई फेक जब अर्डर वितरण गरेर दिग्भ्रमित गरिरहेको पनि आरोप लगाए। उनले यस विरूद्ध आफुहरू न्यायालय जाने चुनौती पनि दिए।