गान्तोक: गान्तोक निर्वाचन क्षेत्रका भारतीय जनता पार्टी (भाजपा) उम्मेदवार पेमा डब्ल्यु रिञ्जिङले आगामी विधानसभा चुनाउमा सिक्किममा कमलको फूल फुल्ने धेरै सम्भावना रहेको बताएका छन्।
उनले भाजपाका केन्द्रिय नेतृत्व सिक्किमको चुनाउलाई लिएर निकै गम्भीर रहेको बताएका छन्।
भाजपा उम्मेदवार रिञ्जिङले आगामी लोकसभा र विधानसभा चुनाउलाई लिएर भाजपाका केन्द्रिय नेताहरू गम्भीर रहेको र पूर्ण समर्थन गरिरहेको बताए। उनले सिक्किममा पनि कमल फुल्न सक्छ भन्दै भाजपा वैशाखीको सरकार होइन, तर आफ्नो दममा सरकार बनाउन चाहन्छ भने।
गान्तोक निर्वाचन क्षेत्रबारे बोल्दै उनले गान्तोकवासीहरूले पानी, बिजुली, बेरोजगारी, अर्थतन्त्र आदि समस्याहरूको सामना गरिरहेका छन् भने। उनले गान्तोकमा पेयजलको समस्या बढ्दै गइरहेको र यस समस्यालाई समयछॅंदा नै सम्बोधित गर्नु आवश्यक रहेको बताए। गान्तोकवासीले आफुलाई मौका दिएको खण्डमा पर्याप्त पेयजल उपलब्ध गराउन काम गर्ने उनले बताए।
अर्कोतिर, पानी र बिजुलीको अभावमा गान्तोकमा पर्यटनको कल्पना पनि गर्नु नसकिने बताए। उनले सिक्किमको राजस्व नरहेको र सबै कुराका लागि केन्द्रमाथि नै निर्भर रहनु पर्ने स्थिति रहेको उनले बताए। यस कारण केन्द्र सरकारको सहयोगमा राज्यका यस्ता धेरै समस्याहरूलाई समाधान गर्न सकिने उनले बताए।
एक प्रश्नको जवाफमा उनले एसडीएफका उम्मेदवार पिञ्चो छोपेल र पूर्व मन्त्री केएन लेप्चाको नाम नलिइ उनीहरू पदमा छॅंदा गान्तोकवासीहरूको समस्यालाई किन समाधान गर्न सकेनन् भनी उनले प्रश्न गरे।