सुनसरीको भुटाहामा झडप,५१ राउण्ड फायर

IMG-20240405-WA0004

झापा, (नेपाल): आज शुक्रबार बिहानबाट अशान्त बनेको पूर्वी नेपाल स्थित सुनसरीको भुटाहा बजार तनावग्रस्त बन्यो। दुई धार्मिक समुदायका केही मानिसहरू बीच दोहोरा भिडन्तमा उत्रिएपछि अवस्था नियन्त्रणबाहिर गएको हो। दिउँसो १ बजेपछि शुरु तनाव दोहोरो झडपमा परिणत भएको छ। तनावग्रस्त क्षेत्रमा बाक्लो सुरक्षा तैनाथ भए पनि दुई पक्षको हुलका कारण सुरक्षाकर्मी पछि हट्नुपर्ने अवस्थाको सृजना भएको छ। प्रदर्शनकारीले गाउँपालिकाको कार्यालय, इलाका प्रशासन कार्यालय र पुलिस पोष्टमा क्षति पुर्‍याएका छन्। सुनसरी पुलिसले दिएको जानकारीअनुसार अहिलेसम्म ५१ राउण्ड बढी हवाई फायर भइसकेको छ। दुई जनालाई गोली लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। अश्रुग्यास र हवाई फायर के कति भएको भन्ने विषय यकिन भइ नसकेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।

कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुँयालले निषेधाज्ञाका बाबजुत भीड नियन्त्रणमा आउन नसकेको बताएका छन्। उनले अवस्था नियन्त्रणमा लिन हरसम्भव प्रयास भइरहेको बताए। यसैबीच अवस्था नियन्त्रण बाहिर जाने देखेपछि सुरक्षा समितिको आपतकालीन बैठक बस्यो। दलीय प्रतिनिधि सहितको उपस्थितिमा प्रशासन कार्यालयमा बसेको बैठकले अनियन्त्रित बन्दै गएको भीडलाई संयमता अपनाउन पहल गरिदिन सरोकारवालासमक्ष आग्रह गरेको छ। कोशी प्रदेशका तीनवटै सुरक्षा निकायका डीआईजी समेतको उपस्थितिमा इनरुवामा सम्पन्न बैठकले अवस्था थप नियन्त्रण बाहिर जाने देखिए सुरक्षाकर्मीले बल प्रयोग गर्नसक्ने चेतावनी दिएको छ। जारी तनाव र प्रदर्शन दक्षिणी भेग हुँदै आसपासका शहर बजारमा समेत बढ्दै गएको छ। दुई समुदायका प्रदर्शनकारी आपसमा भिडेपछि भुटाहा बजारसँगै गौतमपुर, देवानगञ्ज लगायत दक्षिणी भेगका अधिकांश क्षेत्र तनावग्रस्त बन्यो।

यो समाचार तयार पार्दासम्म सुनसरी प्रशासनले हरिनगर गाउँपालिकाका सबै वडा र देवानगञ्जको १ र २ नम्बर वार्डलाई लक्षित गरी निषधाज्ञा जारी गरेको छ। आवश्यक्ताअनुसार दायरा बढाउने वा थप कडाईको आदेश गर्नसक्ने जनाएको छ। टाहामा अघिल्लो दिन हिन्दू युवा र मुस्लिम युवा समूह माझ झगडा भएको थियो। घाइते जीवन मेहता धरानमा उपचाररत छन्। उनको अवस्था सुधारोन्मुख रहेको बताइएको छ। घटना विषयमा दुवै पक्षले आफ्नो पक्षको अडान राख्दै आएका छन्। जसले आज दई समुदायबीच झडपको अवस्था निम्त्याएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement