सिक्किमे जनता दोस्रो पल्ट एसकेएम सरकार गठन गर्न आतुर छन्: प्रेमसिंह तामाङ
गान्तोक: आगामी १९ अप्रेलको दिन सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति आज सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले सोरेङमा आयोजित विजय भवः जनसभामाझ सुनौलो अनि समृद्ध सिक्किम निर्माणलाई केन्द्र गरेर चुनावी घोषणा पत्र सार्वजनिक गऱ्यो। सोरेङ जिल्लाको च्याखुङ एलडी काजी खेल मैदानमा आयोजित विजय भवः जनसभामा सोरेङ च्याखुङका एसकेएम प्रार्थी प्रेमसिंह तामाङ, जुम सालघारी समष्टिका उम्मेदवार मदन सिञ्चुरी, दरामदिन समष्टिका उम्मेदवार एमएन शेर्पा, रिञ्चेपोङ समष्टिका एसकेएम उम्मेदवार इरुङ छिरिङ लेप्चा, लोकसभा उम्मेदवार इन्द्रहाङ सुब्बाको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्षले पाँचवर्षमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले गरेको विभिन्न जनपक्षीय कार्यहरूले गर्दा अहिले सिक्किमे जनता आगामी १९ अप्रेलमा टेबल ल्याम्पको चिन्हमा भोट लगाएर पूनः दोस्रोपल्ट सरकार बनाउन आतुर रहेको बताए। वर्ष २०१९ मा एसकेएम पार्टीले २५ वर्षको तानाशाही सरकारलाई सत्ताच्युत गरेको अनि फेरि आगामी १ अप्रेलको दिन जनताले दोस्रो कार्यकालको निम्ति भोट हाल्ने विश्वास व्यक्त गरे। यो अर्थमा एसकेएम पार्टीको निम्ति १९ अंक धेरै भाग्यशाली रहेको रहेको बताए। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले आफ्नो पहिलो कार्यकालमा अभूतपूर्व कार्यहरूको गरेको दावी गरे। सिक्किमको इतिहासमा शेर्पा समुदायलाई न्याय दिँदै मन्त्रीको पद पनि प्रदान गरेको अवगत गराए। यो पल्ट पनि सिक्किमे सबै जात गोष्टीलाई समान अवसर र न्याय दिँदै सबै जातको प्रतिनिधिलाई उम्मेदवार बनाएर चुनाउमा खड़ा गरेको जानकारी गराए। यो पाली सजिलो प्रकारले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले दोस्रो कार्यकालको निम्ति सरकार गठन गर्ने उनले किटान गरे।
सुनौलो अनि समृद्ध सिक्किम निर्माणलाई केन्द्र गरेर यस वर्षको घोषणा पत्र तयार गरिएको उनले थप उल्लेख गरे। सिक्किमे विद्यार्थी, युवा, महिला, अवकासप्राप्त कर्मचारी, सबै जात धर्म वर्गको विकास हेतु प्रतिज्ञा पत्र तयार गरिएको उनले किटान गरे। यही प्रतिज्ञा पत्र अनुरुप सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आगामी दोस्रो कार्यकालमा समृद्ध अनि सुनौली सिक्किम निर्माण गर्ने अध्यक्ष तामाङले बताए। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले लक्ष्य गरेको सुनौलो अनि समृद्ध सिक्किम निर्माण गर्नको निम्ति सबैले टेबल ल्याम्पको चिन्हमा भोट लगाएर आ-आफ्नो उम्मेदवारलाई विजयी गराउने पनि आग्रह गरे। यति मात्र होइन दोस्रो कार्यकालमा सबै छोड़िएकाहरूलाई सहुलियत, अवसर र नौकरीहरू पनि सरकार बनाउनसाथै प्रदान गर्ने पनि उनले प्रतिज्ञा गरे।
प्रतिज्ञा पत्र सहित आज गोलेको नौ वटा ग्यारेन्टी पनि सार्वजनिक गरियो। यसमा सुनौलो सिक्किमको ग्यारेन्टी, युवाहरूको सुनौलो भविष्यको ग्यारेन्टी, महिलाहरूको सम्मान र उत्थानको ग्यारेन्टी, समृद्ध सिक्किमको ग्यारेन्टी, स्वास्थय सिक्किमको ग्यारेन्टी, शिक्षित सिक्किम, श्रेष्ठ सिक्किमको ग्यारेन्टी, कृषकहरूको खुशहालको ग्यारेन्टी, खुशहाल जीवन र सामाजिक सुरक्षाको ग्यारेन्टी अनि शुसासनको ग्यारेन्टी रहेको छ। यी ग्यारेन्टीहरूमा पार्टी अध्यक्षले हस्तक्षर गरेर सिक्किमे जनतालाई समर्पण गर्दै यो दिशामा कटिबद्ध भएर कार्य गर्ने उनले जनतालाई साक्षी राखेर प्रतिज्ञा गरे। आजको यस कार्यक्रमलाई लोकसभाका उम्मेदावार इन्द्र हाङ सुब्बाले पनि सम्बोधन गरेका थिए।