सिलगढी: सिलगढीको एक प्रसिद्ध कपडा दाेकानका लेखापाल र उनका साथी लाखौं रुपियाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा लेखापाल पियुस जिन्दल (३०)र उनका साथी बिक्की चौधरी (२८) रहेका छन्। पियस जिन्दल भक्तिनगर थाना अन्तर्गतको डाक्टर बीसी कालोनीका र बिक्की वार्ड नम्बर ४ महाराजा कालोनीकी बासिन्दा रहेको बताइएको छ। खालपाडा थानामा रहेको दाेकानका मालिकले खालपाडा थानामा लाखौं रुपियाँ ठगी गरेको भन्दै गत ११ तारिक लिखित उजुरी दिएको पुलिस स्रोतबाट जानकारी प्राप्त भएको छ। एक कपडा दाेकानका मालिकले लेखापालले करिब ७८ लाख रुपियाँ ठगी गरेको आरोप लगाएका छन्। पियुस जिन्दल विगत चार–पाँच वर्षदेखि उक्त दाेकानमा लेखापालको रूपमा कार्यरत रहेको जानकारी प्राप्त भएको छ। पहिले उनका बुवा त्यही दाेकानमा काम गर्थे। जसका कारण लेखापाल पियुस जिन्दलले पसल मालिकको विश्वास जितेर घटनालाई अगाडी बढाएका थिए। करिब ६ महिनाअघि दाेकान मालिकको स्वास्थ्य बिग्रिएको थियो। मालिकको बाइपास सर्जरी भयो। जसका कारण दाेकानको सम्पूर्ण जिम्मेवारी पियुस जिन्दलले सम्हाल्दै आएका थिए। यही मौकाको फाइदा उठाउँदै पियुस जिन्दलले दाेकान मालिकको खाताबाट ७८ लाख रुपैयाँ हिनामिना गरी सहयोगी बिक्की चौधरी र आफन्तको खातामा रकम ट्रान्सफर गरेको आरोप छ। चैत महिनामा सिएले दाेकानको लेखा परीक्षण गर्दा पूरै घोटाला बाहिर आएको थियो। बैंकमा सम्पर्क गर्दा पियस जिन्दलले बैंक खातामा दर्ता भएको मोबाइल नम्बर र इमेल पनि परिवर्तन गरेको पत्ता लाग्यो। जसका कारण उनको ठगीबारे कसैले थाहा पाएनन्। त्यसपछि पसल मालिकका तर्फबाट खालपाडा पुलिस थानामा लिखित उजुरी परेको थियो। उजुरीका आधारमा अनुसन्धानमा जुटेको प्रहरीले आरोपी लेखापाल पियस जिन्दललाई बिहीबार बेरहामपुरबाट पक्राउ गरी आज सिलगढी पुग्यो। घटनाको प्रारम्भिक अनुसन्धानपछि पुलिसले पियस जिन्दलका सहयोगी बिक्की चौधरीलाई पनि पक्राउ गरेको छ। आज दुवै अभियुक्तलाई सिलगढी अदालतमा पेश गरियो, जहाँ न्यायाधीशले दुवै अभियुक्तलाई ५ दिनको पुलिस हिरासतमा राख्न निर्देशन दिए। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।