गान्तोक: नामथाङ रातेपानी निर्वाचन क्षेत्र अन्तर्गत छुबामा आज एसकेएम पार्टीका उम्मेदवार सञ्जीत खरेलको समर्थनमा एक चुनावी सभा सम्पन्न भयो। पूर्व मन्त्री जीएम गुरूङको अध्यक्षतामा आयोजित उक्त सभामा स्थानीय वार्डका मानिसहरू र एसकेएम कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभाध्यक्ष गुरुङले भाजपा नेता दिलीप जैसवालले एसकेएम पार्टी अध्यक्ष प्रेमसिंह तामाङ विरुद्ध गरेको टिप्पणीको कड़ा शब्दमा भत्सर्ना जनाए। उनले मुख्यमन्त्रीलाई गाली गर्नु भनेको सिक्किमे जनतालाई नै गाली गर्नु हो भने। एकातिर प्रधानमन्त्री नरेन्द्र मोदीले सबका साथ सबका विकासको सिद्धान्तलाई अपनाएका छन् भने अर्कोतिर जैसवालले यसरी गोली गर्नु अनुचित रहेको उनले ठहर गरे।
उल्लेखनीय छ, भाजपा नेता जैसवालले केही दिनअघि एक कार्यक्रममा मुख्यमन्त्री तामाङमाथि भ्रष्टाचारको आरोप लगाउॅंदै केजरीवालसॅंगै उनलाई पनि जेल पठाउने बयान दिएका थिए।
गुरुङ आफ्नो सम्बोधनमा पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङमाथि पनि निकै बर्सिए। उनले आधा धरती आधा आकाशको कुरा गर्ने पार्टीले एकै जना नारीलाई पनि टिकट नदिएकोमा आलोचना गरे। यसरी नै एसडीएफले तामाङ समुदायका प्रतिनिधिलाई टिकट नदिएकोमा पनि उनले तिखो आलोचना गरे।
एसकेएम नेता गुरुङले क्षेत्रका जनतालाई एकजुट बन्न तथा एसकेएम उम्मेदवार सञ्जीत खरेललाई भारी मतले विजय बनाउन आह्वान गरे। यसै क्रममा उनले सर्वाधिक भोट ल्याएर उम्मेदवार खरेललाई विजय बनाउने वार्डलाई आफ्नो व्यक्तिगत तर्फबाट एक लाख रूपियॉं प्रदान गर्ने पनि घोषणा गरे।
यसैगरी, एसकेएम उम्मेदवार तथा निवर्तमान उम्मेदवार खरेलले आगामी चुनाउमा एसकेएम पार्टीको जित निश्चित रहेको ठोकुवा गरे। कोभिड महामारीका कारण एसकेएम सरकारले लगभग डेढ़ वर्ष काम गर्नु नपाएको अवगत गराउॅंदै गत साढ़े तीन वर्षपछि एसकेएमले विकासको खोला बगाएको उनले दाबी गरे। यद्यपि, यस कार्यकालमा थॉंतीमा रहेका कार्यहरू आफ्नो दोस्रो कार्यकालमा पूरा गर्ने उनले भरोसा दिलाए।