गान्तोक: गान्तोक जिल्लाका जिल्ला चुनाउ अधिकारी तुषार जी. निखारेको अध्यक्षतामा आज सिच्छेस्थित जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन हलमा सेक्टर म्याजिस्ट्रेट र बूथ स्तरीय अधिकारीहरूको निम्ति एक बैठक आयोजन गरियो।
बैठकमा अप्पर तादोङ र तुमिन लिंगी, आरिथाङ र गान्तोक, स्यारी र अप्पर बुर्तुक एवं खामदोङ निर्वाचन क्षेत्रका रिटर्निङ अफिसरहरू उपस्थित थिए।
भारतको चुनाउ आयोगले ८५ वर्षदेखि माथि उमेर पुगेका वरिष्ठ नागरिक र भिन्नै रूपले सक्षम मानिसहरूका लागि घरमै भोट गर्न सक्ने सुविधा शुरू गरेको छ।
जिल्ला चुनाउ अधिकार निखारेले सम्बन्धित अधिकारीहरूलाई चुनाउको समयमा सावधानी अपनाउन र सबै नियम-कानून पालन गर्न निर्देश दिए। उनले मतदाताहरूलाई घरमा भोट गर्न सक्ने सुविधाबारे जानकारी गराउन तथा मतदान अवधि निष्पक्ष एवं पारदर्शिता सुनिश्चित गर्न बल दिए।
उनले घरमा मतदानको बारेमा राजनीतिक दलहरूलाई अवगत गराउनु पर्ने आवश्यकताको बारेमा पनि जानकारी गराए। उनले अधिकारीहरूलाई होम भोटिङ अवधि सतर्क बस्न र ईभीएम मेशीन सुरक्षाकर्मीको निगरानीमा राख्न निर्देश दिए।