जयपुर। भारतीय जनता पार्टी, सिक्किम प्रदेश अध्यक्ष डी. बी. चौहानले राजस्थानको राजधानी जयपुरमा सम्पन्न भइरहेको भाजपा राष्ट्रिय पदाधिकारी बैठकमा सहभागिता जनाए। हिजोदेखि शुरू भएको तीन दिवसीय राष्ट्रिय पदाधिकारी बैठकको दोस्रो दिन आज पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, राष्ट्रिय उपाध्यक्षगण, महामन्त्रीगण साथै देशभरिबाट उपस्थित राष्ट्रिय पदाधिकारीगण, संगठन महामन्त्रीगण साथै प्रदेश अध्यक्षहरूको उपस्थिति रहेको थियो।
सभाको उद्घाटन सत्रमा राष्ट्रिय अध्यक्ष जेपी नड्डा अनि प्रधानमन्त्री नरेन्द्र मोदीको सम्भाषणबाट शुरू भएको थियो भने दिनभरि चलेको विभिन्न सत्रमा पार्टीको विभिन्न सांगठनिक विषय, भावी रणनीति अनि कार्यक्रमहरूमाथि चर्चा-परिचर्चा भएको थियो। बैठकमा प्रदेश अध्यक्ष चौहानले सिक्किमको सांगठनिक मुद्दाहरू, पार्टीको गतिविधि अनि चुनौतीहरूबारे आफ्नो प्रस्तुति राखेका थिए। बैठकमा विभिन्न प्रस्तावहरू पनि ग्रहण गरिएको छ।
बैठकको शुरूवातमा भिडियो कन्फरेन्सिङमार्फत आफ्नो सम्भाषण राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीले जनसंघदेखि लिएर अहिलेसम्मको पार्टीको यात्रामा आफ्नो योगदान दिने सबै विभूतिहरूप्रति नमन गर्दै सबैको योगदानको फलस्वरूप आज भाजपा विश्वको सबैभन्दा ठूलो राजनैतिक दलको रूपमा खड़ा भएको बताए। आज जसरी विश्वले भारतबाट धेरै आशा गरिरहेको छ त्यसरी नै देशवासीले भाजपाबाट धेरै आशा गरिरहेको उल्लेख गर्दै पार्टीले आगामी २५ वर्षको निम्ति आफ्नो लक्ष्य तय गर्नुपर्ने कुरामा जोड़ दिए। आज देशले स्वतन्त्रताको अमृतकालको वृहत लक्ष्यका साथ काम गरिरहेको उल्लेख गर्दै उक्त लक्ष्य हासिल गर्न प्रत्येक भाजपा कार्यकर्ताको योगदान महत्वपूर्ण रहने बताए।
यसै महिना केन्द्रमा एनडीए सरकारको ८ वर्ष पूरा भइरहेको अवगत गराउँदै विगत आठ वर्षमा सरकारले सेवा, सुशासन अनि गरीब कल्याणप्रति समर्पित गरेको बताए। विगत आठ वर्षमा भाजपा सरकारले सन्तुलित विकास, निम्न वर्गको उत्थान, सामाजिक न्याय तथा सुरक्षा महिलाहरूको सशक्तिकरणमाथि कार्य गर्दै वंशवाद, भेदभाव, तुष्टिकरण अनि भ्रष्टाचारको चंगुलबाट देशलाई मुक्त गर्न सफल बनेको बताए। आफ्नो सम्बोधनमा उनले अन्य विभिन्न उपलब्धिहरूमाथि पनि प्रकाश पारेको जानकारी प्रदेश भाजपा प्रवक्ता डा. राजु गिरीले प्रेस विज्ञप्तिमा दिएका छन्।