विशाखापट्टनम: आईपीएलको इतिहासमा कलकत्ता नाइट राइडर्स (केकेआर)-को टीम बुधवार राति दोस्रो सर्वश्रेष्ठ स्कोर (७ विकेटमा २७२ रन) बनाउन सफल रह्यो। सनराइजर्सले केही दिन अघि मात्र मुम्बई इण्डियन्स विरुद्ध रेकर्ड २७७ रन बनाएको थियो। यसपाली दोस्रो सर्वश्रेष्ठ स्कोर बनाएपछि विपक्षी टीम दिल्ली क्यापिटल्सलाई १०६ रनले पराजित गरेर केकेआर-का कप्तान श्रेयस अय्यरलाई निक्कै खुशी देखियो। आईपीएल २०२४-मा तीनवटा म्याच खेलेर जम्मै जित्ने केकेआर अहिले पोइण्ट्स टेबलमा ६ पोइण्ट्सको साथ शीर्षमा पुगेको छ। यस टीमको नेट रन रेट (२.५१८) पनि सर्वश्रेष्ठ रहेको छ। म्याचपछि केकेआर-का कप्तानले उनको टीमले २७० भन्दा अधिकको स्कोर बनाउने नसोचेको कुरा स्वीकार गरे। अय्यरले भने, ईमानदारीपूर्वक भन्नु पर्दा यस्तो हुनेछ भन्ने सोचेको थिइनँ। मलाई त टीम २१०-२२० सम्म पुग्नेछ जस्तो लागेको थियो तर २७० भन्दा अधिक रन बनिनु सुनमा सुगन्ध थियो। सनी (सुनिल नारेन)-को काम हामीलाई आक्रामक शुरुवात दिलाउनु रहेको मैले पहिला पनि भनिसकेको छु अनि यस कार्यमा उनी विफल रहे पनि हामीलाई कुनै नोक्सान छैन। आज उनको दिन थियो। यसरी अय्यरले युवा ब्याटर अंगकृष रघुवंशीबारे भने, उनी पहिलो बलदेखि नै नीडर थिए। उनको मानसिकता सकारात्क थियो। यसैकारण उनले पहिलो बलदेखि नै शट्हरू खेल्न सके। यसबाहेक बलरहरू पनि सही समयमा अघि बढ़िरहेका छन् अनि उनीहरूले मौकाको फाइदा उठाए।
म्याचको कुरा गर्दा डा. वाईएस राजशेखरा रेड्डी एसीए-भीडीसीए क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै केकेआर-ले २० ओभरमा ७ विकेट गुमाएर २७२ रनको विशाल स्कोर बनायो। केकेआर-का ब्याटरहरूले पूरा ईनिंग्समा १८ वटा छक्का लगाए। दिल्ली क्यापिटल्सका बलरहरूलाई शुरुदेखि नै पिट्ने सुनिल नारेनले सर्वाधिक ८५ रन बनाए। उनले ३९ बल खेलेर ७ वटा छक्का र ७ वटा चौका लगाए। यसबाहेक आईपीएलमा पदार्पण गर्ने रघुवंशीले ५ वटा चौका र ३ वटा छक्काको साथ ५४ रन बनाए। यसबाहेक आन्द्रे रसेलले १९ बलमा ४१ र रिंकु सिंहले ८ बलमा २६ रन बनाए।

दिल्लीका बलरहरूमा एनरिच नोर्खियाले ३ र ईशान्त शर्माले २ विकेट लिए। जवाफमा दिल्ली क्यापिटल्सको टीम १७.२ ओभरमा १६६ रन बनाएर अलआउट भयो। कप्तान रिषभ पन्तले ५ वटा छक्का र ४ वटा चौकाको साथ २५ बल खेलेर सर्वाधिक ५५ रन बनाए। यसबाहेक ट्रिस्टन स्टब्सले ३२ बलमा ५४ रन बनाए। उनले ४ वटा छक्का र ४ वटा चौका लगाए। शीर्ष क्रममा डेविड वार्नर १८ र पृथ्वी साव १० रन बनाएर आउट भए जबकि मिचेल मार्श, अभिषेक पोरेल र अक्षर पटेलले खाता पनि खोल्न सकेनन्। केकेआर-का बलरहरूमा वैभव अरोड़ा र वरुण चक्रवर्तीले ३-३ विकेट लिए। यसरी २४ करोड़ रुपियाँका खेलाड़ी मिचेल स्टार्कले २ विकेट लिए।