दार्जीलिङ: अाज दार्जीलिङ संसदीय सिटको लागि भारतीय जनता पार्टीको प्रार्थी राजु विष्टले आफ्नो नामांकन पत्र भरेका छन्। आफ्नो नामांकन पत्र भर्न अघि राजु विष्टले यसपाली पनि दार्जीलिङको प्रसिध्द महाकाल बाबा मन्दिरमा पुगेर पूजा अर्चना गरेका छन्। उनीसितै गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष बिमल गुरुङले पनि महाकाल बाबा मन्दिरमा पूजा अर्चना गरेका थिए। पूजा अर्चनापछि दार्जीलिङको चौरास्तामा भाजपाले शक्ति प्रदर्शन गरेका थिए। भाजपा प्रार्थी राजु विष्टको समर्थनमा भारतीय जनता पार्टी लगायत गोजमुमो, गोरामुमो, गोरोमुमो, क्रामाकपा, सुमेटु मोर्चा आदिका पदाधिकारीहरू र कार्यकर्ताहरू पनि उपस्थित रहेका थिए। चौरास्तामा आयोजित चुनावी सभालाई सांसद राजु विष्ट लगायत गोजमुमो अध्यक्ष बिमल गुरुङ, गोरामुमोबाट एनबी छेत्री, दार्जीलिङका भाजपा विधायक निरज जिम्बा साथै डा महेन्द्र पी लामाले पनि सम्बोधन गरेका थिए। चुनावी सभालाई सम्बोधन गर्दै वक्ताहरूले भाजपालाई जिताउने आह्वान् गरेका थिए भने जय गोर्खाको नाराले हुंकार गरेका थिए। उक्त चुनावी सभापछि चौरास्ताबाट रैलीको साथमा दार्जिलिङ जिल्ला शासक कार्यालयमा पुगेर भाजपा प्रार्थी राजु विष्टले आफ्नो नामांकन पत्र भरेका थिए। यस अवसरमा उनले दार्जीलिङ जिल्ला शासक डा प्रीति गोयललाई आफ्नो नामांकन पत्र बुझाएका छन्।