नयाँ दिल्ली: भाजपाले असमको दिफु लोकसभा क्षेत्रबाट अमरसिन टिसोलाई उम्मेदवार बनाएको छ। टिसोको पक्षमा प्रचार गर्न आएका असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले चीनबारे यस्तो अभिव्यक्ति दिएका छन्, जसको सर्वत्र चर्चा भइरहेको छ। असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले मंगलबार कार्बी आङ्लोङ जिल्लाको दिफु सहरमा असम प्रदेश कांग्रेस कमिटीका अध्यक्ष भूपेन कुमार बोराको भनाइलाई लिएर मिडियाको प्रश्नको जवाफ दिँदै भूपेन बोरा आफैं चिन्तित भएको बताएl ‘कुनै पनि व्यक्तिलाई विश्वास गर्नु हुँदैन। कांग्रेस नेताहरू आफैं भाजपामा प्रवेश गरिरहेका छन्’, उनले भने। उनलाई मिडियाले चीनले भारतको अरुणाचल प्रदेशका ३० ठाउँको नाम परिवर्तन गरेको बारे प्रश्न गरेका थिए। यसबारे हिमन्त विश्व सरमाले भारत सरकारलाई चीनका बारेमा टिट फर ट्याट नीति अपनाउन र तिब्बतका ६० स्थानको नाम परिवर्तन गर्न आग्रह गरेको बताए। तर, यसमा के गर्ने भन्ने कुरा केन्द्र सरकारको निर्णय भएको उनले बताए। ‘तर, म अझै पनि भारत सरकारलाई अनुरोध गर्छु कि यदि ३० वटा नाम परिवर्तन गरे भने हामीले ठाउँको नाम परिवर्तन गर्नुपर्छ’, उनले भने।










