गान्तोक: सिक्किम प्रदेश कांग्रेस अध्यक्ष गोपाल छेत्रीले राज्यमा एसकेएम र भाजपाबिच गठबन्धन समाप्त भएको घोषणा गरिए तापनि दुई पार्टीबिच सॉंठगॉंठ रहेको दाबी गरेका छन्।
यदि एसकेएम र भाजपाबिच सॉंठगॉंठ नहुॅंदो हो भने कसरी राज्यसभा सीट भाजपालाई दियो भनी उनले प्रश्न गरेका छन्।
प्रदेश कांग्रेस अध्यक्ष छेत्री आज राजधानीमा आयोजित एक प्रेस सम्मेलनमा बोल्दै थिए। उनले अहिलेसम्म सिक्किमले क्षेत्रीय राजनीतिक दलका उम्मेदवारलाई सांसद बनाएको हुॅंदा राज्यमा धेरै केन्द्रिय कानूनहरू भित्रिएको दाबी गरे। उनले वर्तमान एसकेएम सरकार र भाजपाबिच गठबन्धनकै कारण राज्यमा सीएए, एनआरसी आदि जस्ता केन्द्रिय कानूनहरू भित्रिएको बताए।
उनले भाजपा र एसकेएमबिच अझै पनि गठबन्धन रहेको दाबी गर्दै सिक्किमलाई अब कांग्रेसले मात्र सुरक्षा प्रदान गर्न सक्ने बताए। उनले क्षेत्रीय पार्टीका सांसद दिल्लीमा एक्लै पर्ने हुॅंदा राज्यका मुद्दाहरू प्रभावकारी ढङ्गमा उठाउन नसक्ने आसय व्यक्त गरे। उनले कांग्रेस सिक्किमलाई प्राप्त अधिकारहरूको सुरक्षा सुनिश्चित गर्ने पार्टी रहेकाले जहिले पनि सिक्किमको पक्षमा उभिने छ भनी बताए।
अर्कोतिर, कांग्रेस पार्टीका केन्द्रिय नेता मेथ्यु एण्टनीले इण्डी गठबन्धनले केन्द्रमा सरकार गठन गर्ने दाबी गरे। उनले सिक्किमको धारा ३७१एफ को सुरक्षा कांग्रेसले मात्र गर्न सक्ने पनि दाबी गरे। उनले सिक्किमवासीहरूलाई केन्द्र सरकारका झूटहरूसॅंग जोगिन सुझाउ पनि दिए।










