भोटिया अनि लिम्बू जातिलाई आदिम जनजातिको मान्यता दिने एसडीएफकाे घोषणा

n596914138171208050141178e2abedbd3143f6e07bfca47b63e35ddbd47eaf88a71ae4bc1945964f7a2264.jpg

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अध्यक्ष पवन चामलिङले सरकारमा आएपछि सिक्किमका भोटिया अनि लिम्बू जातिलाई आदिम जनजातिको मान्यता दिने घोषणा गरेका छन्।

चामलिङले आज दिउँसो पश्चिम सिक्किमको गेजिङ जिल्ला अन्तर्गत याङथाङ समष्टिका जनतालाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्।

याङथाङमा एसडीएफ पार्टीको चुनावी जनसभालाई सम्बोधन गर्दै एसडीएफ नेता चामलिङले भने, यस क्षेत्रमा तपाईहरुले चाहेकै युवा केसाम लिम्बूलाई उम्मेदवार बनाएका छौं। उनले लिम्बू अनि लोकसभा उम्मेदवार पीडी राईलाई मतदान गरेर जिताउन अपील गरे।

चामलिङले गेजिङ जिल्लालाई धार्मिक एवम् सांस्कृतिक धरोहर केन्द्रका रूपमा विकास गर्ने एसडीएफको योजना र कार्यक्रम रहेको जनतालाई अवगत गराए। उनले भने, सिक्किमका छोग्याल तेन्सुङ नामग्यालकी महारानी थुङ्वा मुक्माको नाममा सिक्किम सांस्कृतिक धरोहर केन्द्रको स्थापना यही क्षेत्रमा गर्नेछौं।

एसकेएम सरकारमा जनतालाई डर देखाउने मात्र काम भएको उल्लेख गर्दै उनले सिक्किमको शान्ति र सुरक्षाका लागि अनि एसकेएमको धम्की र त्रासबाट जनतालाई मुक्ति दिन एसडीएफलाई जिताउन जनतालाई अपील गरे। उनले भने, तपाईंहरू एसडीएफको सरकार ल्याउनु होस्, हामी शान्ति र सुरक्षा दिनेछौं।

एसकेएम सरकारले गरीब जनताको घर बनाउने योजनामा पनि भ्रष्टाचार गरेको आरोप लगाउॅंदै उनले भने, हामी जनतालाई सपनाको घर बनाउन २० लाख रुपियाँ तीन किस्तीमा जनताको हातमा दिनेछौं। तपाईं आफ्नो घर आफै बनाउनु होस्। उनले पञ्चायतहरुलाई सशक्त गर्ने, ग्राम प्रसाशन केन्द्रमा लाइन विभागका अधिकारीहरू नियुक्त गर्ने, ठेक्काको काम स्थानीयलाई दिने, प्रत्येक गाउँमा ग्रामीण मार्केटिङ केन्द्र बनाउने घोषणा गरे।

आफ्नो सम्बोधनमा एसडीएफ उम्मेदवार केसाम लिम्बूले जनतालाई मतदानको अपील गर्दै क्षेत्रको समग्र विकासका लागि काम गर्ने बताए। उनले भने, १९ अप्रेल, २०२४ को दिन सिक्किमका जनताले नयाँ इतिहास कोर्नेछन्। सिक्किमको शान्ति शृङ्खला फर्काउन याङथाङका जनता तयार रहेको उनले बताए।

जनसभामा एसडीएफ पार्टीका प्रवक्ता अरूण लिम्बू, प्रवक्ता डा. वीणा बस्नेत अनि लोकसभा उम्मेदवार पीडी राईले पनि सम्बोधन गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement