एसकेएम उम्मेद्वार राजकुमारी थापाले शुरु गरिन् चुनाउ प्रचार

IMG-20240402-WA0269.jpg

गान्तोक: दक्षिण सिक्किमको नाम्ची जिल्लाअन्तर्गत राङ्गाङ याङ्गाङ समष्टिकी सिक्किम क्रान्तिकारी मोर्चा उम्मेद्वार श्रीमती राजकुमारी थापाले आजदेखि औपचारिक रुपमा चुनाउ प्रचार आरम्भ गरेकी छन्। उनले आज क्षेत्रको लिङ्गमो गाउँमा एउटा जनसभालाई सम्बोधन गरिन्। पार्टीका कार्यकर्ता अनि समर्थकहरूलाई सम्बोधन गर्दै निवर्तमान विधायक श्रीमती थापाले आगामी १९ अप्रेलको दिन हुने विधानसभा चुनाउमा आफ्नो जीत निश्चित रहेको दावी गरिन्। त्यो जीत आफ्नो मात्र जीत नभएर सम्पूर्ण राङगाङ याङ्गाङवासीको जीत हुने उनको भनाइ रहेको छ। आगामी चुनाउमा याङ्गाङ राङ्गाङ क्षेत्रमा एसकेएम पार्टीको जीत निश्चित छ। केवल चुनाउको दिन भोटिङ मशिनमा ल्याम्पको चिन्हलाई दबाउनु मात्र हो र, यो जीत सम्पूर्ण एसकेएम कार्यकर्ता र राङ्गाङ याङ्गाङवासीको जीत हुनेछ, उनले भने।

आफ्नो सम्बोधनको क्रममा श्रीमती थापाले राङ्गाङ याङ्गाङका एसकेएम पार्टीका सबै पुरा नेता अनि कार्यकर्ताहरू आफूसँगै रहेको दावी गरिन्। यस सम्बन्धमा उनले विशेष गरेर क्षेत्र प्रभारी आरके बस्नेत र युवा नेता विकास बस्नेतको नाम लिइन्। यसरी नै क्षेत्रका सबै पञ्चायत अनि पार्टीका विभिन्न ओहोदाम रहेका नेता र कार्यकर्ताहरू पनि आफूसँगै रहेको उनले थप बताइन्। आजको जनसभामा एसकेएम पार्टीका क्षेत्र प्रभारी तथा २०१९ को चुनाउका उम्मेद्वार आरके बस्नेतको पनि उपस्थिति रहेको थियो।

उल्लेखनीय छ, २०१९ को चुनाउमा सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीको टिकटमा विधायक बनेकी श्रीमती थापा पछि भारतीय जनता पार्टीमा सामेल भएकी थिइन् भने केही दिन अघि मात्र सिक्किम क्रान्तिकारी मोर्चामा सामेल भएकी हुन्। पार्टीले विभिन्न समिकरण मिलाएर टिकट दिनुपर्दा आफूले अवसर पाएको बताउँदै विधायक चुनिएपछि क्षेत्रका सबै कार्यकर्ता र नेताहरूसित मिलेर सामुहिक निर्णयमा काम गर्ने उनले वचन दिएकी छन्। अर्कोतिर क्षेत्रका वरिष्ट एसकेएम नेता आरके बस्नेतले पनि श्रीमती राजकुमारी थापालाई पूर्ण समर्थन जनाउँदै सरकारमा पुगेपछि क्षेत्रका पुराना कार्यकर्ताहरूलाई सम्झना गर्ने सुझाउ दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *