गान्तोक: ‘ओल्ड पेन्सन लागू गर्ने विषयमा एसकेएम सरकारले निर्णय गर्नसकेको छैन। हामी सरकारमा आउनासाथ ओल्ड पेन्सन स्कीम लागू गर्नेछौं।’ उक्त घोषणा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अध्यक्ष पवन चामलिङले आज पश्चिम सिक्किमको मानेबुङ देन्तामको हि बजारमा गरेका हुन्।
मानेबुङ देन्तामका जनतालाई सम्बोधन गर्दै चामलिङले भने, हामी सरकारमा आउनसाथ सरकारी कर्मचारीहरूको क्याजुअल लीभलाई बढाएर १५ दिन बनाउनेछौ। उनले भने, मिड डे मिलमा काम गर्ने काम गर्ने दिदी-बहिनीहरूले ५-६ हजारमा काम गरिरहेका छन्। हामी सरकारमा आएपछि मिनिमम वेजेजअनुसार कम्तीमा २० हजार रुपियाँ तलब बनाउनेछौं।
उनले भने, यो सरकारले नोकरीमा लगाउँदैछ तर बजेटमा पैसा राखेको छैन। रेण्डम एपोइण्टमेण्ट गर्दैछ, नियम-कानून छैन, पोस्टिङ पनि छैन, उत्तरेमा एपोइण्ट हुनेलाई गान्तोक पुऱ्याएको छ। हामीलाई सरकारमा ल्याउनुहोस्, हामी नियम बनाएर तपाईहरूको नोकरी पक्का गर्नेछौं।
उनले अझ भने, आउने सरकारमा सबै ढाँड़बारीको टेरेसिङ गरिदिनेछौं। कफी, निम्बू र एभोकाडोको खेती पनि शुरू गर्नेछौं। खेतीपाती गर्नेहरूलाई इज्जत र सम्मान दिलाउनेछौं।
यो सरकार आएपछि देन्तामको चीज फेक्ट्री बन्द भएको उल्लेख गर्दै चामलिङले सरकारमा आएपछि चीज फेक्ट्री खोल्ने वचन दिए। उनले भेटनरी साइन्स कलेज बनाउने घोषणा पनि गरे।
उनले चिवा भञ्ज्याङलाई अन्तरराष्ट्रिय पर्यटनस्थल बनाउनेछौं भने। उनले स्टेट ल्याङ्वेजलाई कलेज र युनिवर्सिटीसम्म पढ़्नसकिने बनाउनेछौं भने। चामलिङले भने, हामी आउने सरकारमा मेगा इम्प्लोयमेण्ट स्कीम लिएर आउँदैछौं। बजेटको २० प्रतिशत यसमा लगाउनेछौं। पाँच वर्षमा २० हजार करोड़ रुपियाँ बेरोजगारी समाप्त गर्ने काममा खर्च गर्नेछौं। सिक्किममा उपलब्ध जम्मै कामहरूमा १०० प्रतिशत सिक्किमे युवाहरूलाई आरक्षण दिनेछौं।
चामलिङले आउँदो १९ अप्रेलको दिन आफ्नो अन्तर्रात्मको आवाज सुनेर सिक्किम बचाउन मतदान गर्न अपील गरे। उनले भने, यसपालिको चुनाउ सिक्किमको भविष्य बचाउने, नानीहरूको भविष्य बनाउने अन्तिम चुनाउ हो।









