सालबारी: शब्द समयको १२८औं प्रकरण सालबारीको सयपत्री सङ्घको प्रेक्षागृहमा सम्पन्न भयो। डा सञ्जय बान्तवाको वक्तव्यबाट उक्त प्रकरण शुभारम्भ भयो। आफ्नो छोटो र सारगर्भित वक्तव्यमा डा बान्तवाले नेपाल र भारतको नेपाली साहित्यको चर्चा गर्ने क्रममा भारतीय सन्दर्भलाई प्रस्ट पार्न फ्रेडेरिक ज्याक्सन टर्नरको सीमान्त अध्ययन सिद्धान्तलाई आधार मान्न सकिन्छ भनी बताए। कार्यक्रममा रचना पाठको क्रममा डा रिनजी इडेन वाङ्गदी, भविलाल लामिछाने, मिलन रुचाल, मोनिका प्रधान, कृष्ण प्रधान ‘अर्पण’, कप्तान महेशकुमार सुब्बा, निर्मल सिञ्चुरी, देविका मग्रांती, प्रदीप शेर्पा, सुरेन्द्र लिम्बू ‘परदेशी’ले कविता पाठ गरेर सुनाएका थिए। वरिष्ठ साहित्यकार मोहन ठकुरीले आँखाको समस्याले गर्दा हालै बिर्तामोड गई चिकित्साधीन हुँदा सँगालेका रोचक तथ्यहरूलाई संस्मरणको रूपमा सुनाएका थिए। लीलबहादुर सुनारले मुक्तक र नीरा सुब्बा ‘नेचाली’ले हाइकु पाठ गरेका थिए। त्यसरी नै सुभाष छेत्री, मणिकुमार प्रधान र जीतबहादुर सुनारले आ-आफ्नो कथा वाचन गरेर सुनाएका थिए। ज्ञानेन्द्र खतिवडाले शब्द समयका अति कर्मठ सदस्य पूर्ण मगरको अनुपस्थितिमा उनको कविता पाठ गरेर सुनाए। कार्यक्रममा टंक शर्मा, डीएस बम्जन, मुन्ना छेत्री, रजनी शर्मा, देवी छेत्री, तुलसा शर्मा, रघुनाथ शर्मा, बद्री खरेल आदि पनि उपस्थित थिए। कार्यक्रमको अन्तिम चरणमा हालै दिवंगत भएका कथाकार परशु प्रधान, गीता गुरुङ र बीबी योञ्जनको स्मृतिमा शोक प्रकट गर्दै एक मिनेटको मौन धारण गरियो। त्यसपछि कवि ज्ञानेन्द्र खतिवडाले आफ्नो समापन वक्तव्यपछि धन्यवाद ज्ञापन राखेका थिए भनी शब्द समय सालबारीको पक्षमा जीत सुनारले जानकारी गराएका छन्।









