सिलगढी: दार्जीलिङ जिल्ला महिला तृणमूल कांग्रेसको तर्फबाट आज सिलगढीमा दार्जीलिङ लोकसभा क्षेत्रका तृणमूल उम्मेदवार गोपाल लामाको समर्थनमा कार्यकर्ता बैठक आयोजना गरियो। सिलगढीमा भएको बैठकमा तृणमूल महिला कांग्रेसकी प्रदेश अध्यक्ष चन्द्रिमा भट्टाचार्य उपस्थित थिइन्। बैठकमा उनले केन्द्रले राज्यलाई वञ्चित गरेको आरोप लगाइन्। उनले १ लाख ३६ हजार जनताको आवासको रकम केन्द्रले रोकेको र त्यसलाई केन्द्रले स्वीकृत गरेको बताइन्। ‘मुख्यमन्त्री ममता ब्यानर्जी १ मईसम्ममा केन्द्रले पैसा नदिए आफूले दिने बताएकी छिन्। मुख्यमन्त्री ममता ब्यानर्जीले जे भन्छिन् त्यही गर्छिन्’, उनले भनिन्। सिलगढीमा चन्द्रिमा भट्टाचार्यले गोपाल लामालाई विजयी बनाउन आह्वान गरिन्। उनले दार्जीलिङ लोकसभा सिटमा यसपटक तृणमूल कांग्रेसका उम्मेदवारले जित्नेमा आफूलाई शतप्रतिशत विश्वास रहेको बताइन्। भेटपछि उनले घरदैलोमा गएर गोपाल लामाको समर्थनमा जनसम्पर्क अभियान संचालन गर्दै राज्य सरकारका विभिन्न योजनाबारे प्रकाश पार्दै गोपाल लामालाई भोट हाल्न आग्रह गरिन्।









