सिक्किम सानो र कम जनसंख्या भएको राज्य भए तापनि देशको सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण राज्य: मुख्यमन्त्री तामाङ

IMG_20220803_230626.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम सानो र कम जनसंख्या भएको राज्य भए तापनि देशको सुरक्षाको दृष्टिकोणले सिक्किम महत्वपूर्ण राज्य रहेको बताएका छन्। उनले सिक्किम तीनवटा अन्तरराष्ट्रिय सीमानाले घेरिएको राज्य रहेकाले सिक्किमेहरू आफु पनि बाच्नु पर्छ र देशलाई पनि बचाउनु पर्छ भनी बताएका छन्।

मुख्यमन्त्री तामाङ अाज राजधानीको मनन केन्द्रमा आयोजित ‘हर घर तिरंगा’ अभियानको राज्यमा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै थिए। राज्य संस्कृति विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री तामाङले सिक्किम सानो राज्य भए तापनि सिक्किमको अवस्थितिका कारण देशको सुरक्षामा सिक्किमको ठूलो महत्व रहेको बताए। सिक्किम अन्तरराष्ट्रिय सीमानाहरू घेरिएको राज्य हो भन्दै उनले राज्यको विकाससॅंगै देशको सुरक्षा पनि उतिकै महत्वपूर्ण रहेको बताए। उनले देशको सुरक्षालाई ध्यानमा राखेर नै विकास कार्यहरू पनि गर्नु पर्ने विचार राखे।

‘हर घर तिरंगा’ अभियानबारे बोल्दै मुख्यमन्त्री तामाङले देशमा आगामी १३ देखि १५ अगस्तसम्म ‘हर घर तिरंगा’ अभियान पालन गर्न आह्वान गरिएको भए तापनि सिक्किममा एक अगस्तदेखि नै यो अभियान शुरू गरिएको जानकारी गराए। देशले स्वतन्त्रता प्राप्त गरेको ७५औं वर्ष मनाउन पाउनु ठूलो कुरा रहेको बताउॅंदै उनले भने, ‘देश भनेको आमा हो। देश बिना हाम्रो अस्तित्व पनि रहने छैन।’ उनले हामी स्वतन्त्र भारतमा जन्मिएकाले हामीलाई स्वतन्त्रताको त्यति महत्व छैन, तर स्वतन्त्रता पाउनका लागि धेरै देशवासीहरूले आफ्नो प्राणको आहुति दिएका छन् भनी बताए। उनले ‘हर घर तिरंगा’ अभियान अन्तर्गत सबैलाई स्वेच्छापूर्वक तिरंगा झण्डा लगाइदिन आह्वान गरे।

यस अतिरिक्त, मुख्यमन्त्री तामाङले राज्यस्तरीय स्वतन्त्रता दिवस नाम्चीस्थित भाइचुङ स्टेडियममा मनाउने जानकारी गराए। यसैगरी, उनले शहरी विकास विभाग र नगरपालिकाहरूलाई राज्यका प्रत्येक बजारलाई तिरंगाले सजाउन सुझाउ राखे। कार्यक्रमलाई संस्कृति विभाग मन्त्री साम्डुप लेप्चाले पनि सम्बोधन गरे। कार्यक्रममा संस्कृति विभागद्वारा तयार पारिएको तीनवटा वृत्तचित्र लोकार्पण गरियो। यस अवसरमा संस्कृति विभागका कलाकारहरूले देशभक्ति गीत र नृत्यहरू प्रस्तुत गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *