अब्बल साहित्यकार युद्धवीर राणा र साहित्य अकादमी पुरस्कार

युद्धवीर राणा
जे के बराइली

भारतको उर्तर पूर्वी क्षेत्र (असम)बाट नेपाली साहित्यमा लामो समयदेखि भागीरथ योगदान पुऱ्याउँदै आउनु हुने प्रतिष्ठित साहित्यकार स्वनामधन्य युद्धवीर राणालाई देशको सर्वोच्च साहित्यिक संस्था साहित्य अकादमीले वर्ष २०२३ को साहित्य अकादमी पुरस्कारले विभूषित गर्नु भनेको सामान्यरूपले हेर्दा त प्रतिवर्ष एक न एकजनाले पुरस्कार पाउने क्रमको निरन्तरता जस्तो मात्र लाग्छ। तर यसको सबैभन्दा ठूलो महत्त्व कहाँ छ भने, कुनै पनि भारतीय साहित्यकारको शीरमा यो पुरस्कारको श्रीपेच पर्नु भनेको देशमा राजनीतिक मूल प्रवाहमा सामेल भएकै अनुभूत गर्दा गर्दै पनि आफ्नो पहिचान र हक हितको लागि पटक पटक चिच्याइरहनु पर्ने परिस्थिति झेल्दै भए तापनि मुलुकको विविधताभित्र भारतीय नेपाली भाषीहरूले पनि आफ्नो छुट्टै उन्नत भाषा, साहित्य र संस्कृतिको प्रमाण दिँदैआफ्नो उपस्थितिलाई टडकारो राख्नु सकेको साक्षी पनि हो यो। यो पुरस्कारलाई हामीले पाएको मूल्याङ्कनको यही दृष्टिकोणले हेर्न सकिन्छ। विविध भाषा र साहित्यले डम्म भरिएको मुलुकको सर्वोच्च साहित्यिक संस्थाले सबै भारतीय भाषा र साहित्यलाई एउटै भारत माताको सन्तान ठानेर साहित्यिक पर्व मनाउँदै निधारमा टीका लगाएर आशिर्वाद दिएको खुशीयालीपूर्ण क्षण हो यो। भारतीय नेपालीहरूलाई पटक पटक लाञ्छना लाउँदै आउने इतिहासदेखि अनभिज्ञ मस्तिष्कहरूलाई यो एउटा दह्रिलो मुक्का हो।

अब पुरस्कृत स्रष्टा स्वनामधन्य युद्धवीर राणाबारे कुरा गरौं। साहित्यिक कृतिहरूका माध्यमले र पठन पाठनको माध्यमले मात्र मैंले उहाँलाई चिनेको थिएँ। साक्षात्कार भने भएको थिएन। साहित्य अकादमी पुरस्कार वर्ष २०२३ को लागि उहाँको नामको चयन हुनासाथ उहाँ कहिले दिल्ली आउनुहुन्छ र उहाँलाई हेरौं र उहाँसित कुरा गरौ भन्ने खुल्दुली मनमा थियो। साहित्य अकादमी पुरस्कार ग्रहण गर्न जो पनि सबैभन्दा पहिले त दिल्ली नै आउनु पर्ने हुनाले पुरस्कारले विभूषित भए लगत्तै अर्को दिन दिल्लीबासी नेपालीहरूले धुमधामले सम्मान र अभिनन्दन जनाउने गर्छन्। पुरस्कार पाउने स्रष्टाको लागि पुरस्कार प्राप्त गरेपछि नेपाली जनमानसबाट पाउने यही नै सबैभन्दा पहिलो अभिनन्दन हुन्छ। यही परम्पराको निर्वाह गर्दै दिल्लीमा पनि हाम्रो स्वाभिमान ट्रस्टनेपाली सम्मेलन, दिल्लीद्वारा गान्धी शान्ति प्रतिष्ठानको सभागारमा उहाँलाई भव्य स्वागत र अभिनन्दन जनाइयो। यो कार्यक्रम समापन भएपछि भोलिपल्ट मैले उहाँसित धेरै कुराकानी गर्ने अवसर प्राप्त गरें। उहाँबारे धेरै जान्ने जिज्ञासा थियो र मैंले उहाँलाई दिल्ली आउँदा आफ्नोबारे सबै जानकारी प्राप्त हुनसक्ने कागजपत्र पनि मेरो लागि ल्याइदिने आग्रह गरेको थिएँ। उहाँले मेरो आग्रह स्वीकार गर्नुभयो अनि कार्यक्रम सकेपछि मलाई विस्तारपूर्वक लेखिएको परिचयपत्र नै दिनुभयो। परिचयपत्र अति विस्तारमा लेखिएको थियो त्यो पनि आफ्नै हातले। सबैभन्दा पहिले त यसमा उहाँको हस्तलिपीले मेरो ध्यान खिच्यो। यति सुन्दर हस्तलिपी मैंले विरलै देखेको थिएँ। परिचय पत्र ११ पृष्ठको थियो तर अन्तमा उहाँले “यसमा मेरो धेरै कुरा अँटाउन सकेको छैन भनि लेख्नु भएको रहेछ। उहाँको हस्तलिपीबाटै एक सुदक्ष कलाकारको प्रतिछाँया स्पष्ट झल्किरहेको थियो।

एक अब्बल साहित्यकार, चित्रकार, मूर्तिकार, काष्ठ शिल्पकार, नाटककार, नाट्य अभिनय कलाकार, गीतकार, गायक, हास्य कलाकार इत्यादि विशेषणले सुशोभित राणाज्यू जस्तो विलक्षण व्यक्ति एक युगमा एक पटक जन्मिएला। यति प्रतिभाशी व्यक्तिलाई स्वयंमा एक इन्सटिच्यूशन भने पनि हुन्छ। हामीले यस्ता व्यक्तिलाई कतिसम्म बुझेका छौं, हाम्रा यस्ता प्रतिभासम्पन्न व्यक्तिहरूका लागि हाम्रो समाजभित्र कति अनुकुल वातावरण र सकारात्मक स्थिति छ,त्यसलाई आँखिझ्यालबाट हेर्नु हो भने मेरो उहाँसितको वार्तालापको उल्लेख मैंले यहाँ गर्नुपर्ने हुन्छ।

नेपाली लोक साहित्य र लोक संस्कृतिको परिचय शिर्षक रहेको पुस्तकमा उहाँले अकादमी पुरस्कार पाउनुभयो। साहित्य अकादमी पुरस्कार उहाँले पाउनुभयो भन्ने विषयलाई लिएर होन तर कतिपय समसामयिक विषयहरूबारे उहाँको विचार खोतल्नु पऱ्यो भन्ने उद्देश्यले म उहाँसित कुरा गर्छु दिल्लीबाट फिर्नुभन्दा पहिले। लोक साहित्य भन्ने बित्तिकै त्यसैभित्र पर्ने ढिकुटीभित्र पर्छन् हाम्रा उखान र टुक्काहरू। उहाँको पुरस्कृत पुस्तकको शिर्षक नेपाली लोकसाहित्य र लोक संस्कृतिको परिचयपुस्तकभित्र विषय सूचीको ११ र १२ मा उखान र टुक्काबारे परिचय मात्र होईन तर पूरा मन्थन गर्नुभएको रहेछ। हाम्रा उखान र टुक्काहरूका शोधमा अति चासो राख्ने म जस्तो व्यक्तिको लागि यो एउटा बहसको विषय भयो। उहाँ समक्ष मैंले आफ्नो विचार राखें—हाम्रा साहित्यमा कविता लेख्नेहरूको नै भरिभराव छ। अहिलेका नयाँ पिढीले त साहित्य भन्नु नै कविता हो भन्ने पो बुझ्न थालेछन् जस्तो लाग्छ। हो, सबै भाषाकाहरूले कवितामा ध्यान दिएका छन् तर साहित्यको अन्य गहन विधाहरू पनि त छन्। हामीमा लोक साहित्य र लोक संस्कृतिमाथि शोध गर्ने र लेख्नेहरूका कमी छ। नेपालमा धेरैले यस दिशामा काम गरेका छन् तर भारतीय नेपाली साहित्यमा यो क्षेत्र उपेक्षित छ भने हुन्छ। अर्कोतिर हिन्दी र अंग्रेजी साहित्यमात्र होईन तर अन्य भारतीय भाषा साहित्यलाई हेरौं। उनीहरूमा उखान टुक्का जस्ताअमुल्यलोक सम्पदाहरूलाई संरक्षित गर्ने र नयाँ पिढ़ीलाई हस्तान्तरण गर्ने दिशामा ठोस् कामहरू भइरहेका छन्। उखान टुक्काहरूलाई संग्रहित गर्ने, यिनीहरूलाई मूल्याङ्कन गर्ने, खोजी खोजी निकाल्ने, लिपीबद्ध गर्ने र यस विषयमा शोध तथा अनुन्धान नै गर्नै कामहरू भइरहेका छन्। धेरैले यसै दिशामा शोध गरेर विद्याविरिधी उपाधि हासिल गरिसकेका छन्। तर खै हाम्रो भारतीय साहित्यमा भने यस दिशमा केही सन्तोषप्रद काम भएको मैले कदाचित देखेको छुइनँ भनि उहाँ समक्ष आफ्नो विचार पोख्दा उहाँले यस क्षेत्रमा नगण्य काम भएको छ भन्दै धेरै असन्तुष्टि व्यक्त गर्नुभयो। हाम्रो लोक साहित्य सम्बन्धमा आफूले यस अघि पनि नेपाली संस्कृतिः हाम्रो अस्तित्व’ शीर्षकको पुस्तक (नेपाली सांस्कृतिक परिचय) लेखेको र त्यसलाई सन् २००६ मा सिक्किमको निर्माण प्रकाशनले प्रकाशित गरिदिएको बताउनुभयो।अघि पनि नेपाली लोक संस्कृतिमाथि नै पुस्तक लेख्ने अनि यसपाली पुरस्कृतकृति पनि नेपाली लोक कथा र लोक संस्कृति सम्बन्धमा नै रहेको देख्दा युद्धवीर राणाज्यू हाम्रो लोक साहित्य र लोक संस्कृतिप्रति अति नै सचेत चिन्तक र संरक्षक हुनु हुन्छ भन्ने दह्रिलो प्रामाण पान्छ।

कुराकानीको क्रममा मैंले उहाँसित हामी भारतीय नेपालीहरूमाझ साहित्य क्षेत्र वा संगीत तथा कुनै पनि कला क्षेत्रमा समर्पित रहनेहरूका लागि उपयुक्त प्लेटफर्महरू छैनन् भन्ने बिचार व्यक्त गर्दा उहाँले यस कुराको समर्थन गर्दै के कुरा थप्नुभयो भने,  “लेखकहरूका पुस्तकहरू प्रकाशन गरिदिने वा विक्रय वितरण गरिदिने कुनै निकायहरू छैनन्। यसले गर्दा लेखकहरूले धेरै नै कठिनाइको सामना गर्नुपर्छ। गायक/गायिका, संगीतकार र गीतकारहरू साथै अन्य कलाकर्मीहरूका लागि त झन् प्लेटफर्मको कुरै नगरे भयो।हामीभित्र प्रेरणादायी परिवेश छैन अनि कसरी हाम्रो लोक साहित्य र संस्कृतिको जगेर्ना हुन्छ र भन्ने सत्य कुरातर्फ इंगित गर्दै धेरै गुनाँसोहरू-व्यक्त गर्नुभयो।‘’ उहाँले भन्नुभयो, पारसमणि प्रधानले तयार पार्नुभएको धेरै पहिलेको नेपाली-नेपाली शब्दकोषअतिरिक्त हामीसित यस्तो कुनै शब्दकोष नभएको तथ्यलाई ध्यानमा राखि मैंले आजभन्दा बीस वर्ष पहिले यस्तो शब्दकोष तयार पारेको छु। पाण्डुलिपी तयार पारेको यतिका वर्षसम्म त्यसलाई छपाउन सकेको छुइनँ। आफूले खर्च लाएर छपाउन असमर्थ छु अनि यस कार्यको लागि कुनै प्रकाश वा कुनै संग संगठनको सहयोग मैंले पाउन सकेको छुइनँ। मेरो जीवनकालमा नै यो शब्दकोष छापिएर निस्कियोस् भन्ने इच्छा छ तर खै”। यति भनि उहाँले लामो निःश्वास लिनुभयो।

हाम्रो जातिभित्र पुस्तक पढिदिने पाठकहरूका अभाव र कलाकारहरूका उचित मूल्याङ्कन नभएको तिक्तता व्यक्त गर्दै अब्बल साहित्यकार हुनुको साथ साथ एक असल मूर्तिकार, चित्रकार, नाटक अभिनेता, हास्य नाटककार, गायक र लोक संगीत र लोक संस्कृतिको अन्न्य चिन्तक पनि रहनु भएका युद्धवीर राणाज्यूले कुरै कुरामा मलाई भन्नुभयो मलाई त किन हो आजकल आफ्नो नामको पछि साहित्यकार, कलाकार आदि जस्ताकार विशेषणहरू जोड़िएको मन पर्दैन।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *