मल्ली: दक्षिण सिक्किमको मल्ली चेकपोस्टमा एक व्यक्तिलाई धेरै नगदको साथमा सम्बन्धित निकायले अधीनमा लिएको छ। चुनाउको बेला अनि आदर्श आचार संहिता लागु भएको समय यति धेरै नगद लिएर हिँड़ेकोमा शङ्काको आधारमा मल्लीमा खटिएको निर्वाचन आयोगको फ्लाइङ स्कोवड टीमले उनको वाहनलाई जाँच गरेको थियो। जिल्ला प्रशासनको विशेष सूत्रले बताएअनुसार नगदका साथमा अधीनमा लिइएका व्यक्तिलाई नाम्ची निवासी सिरिस खरेको रुपमा चिन्हित गरिएको छ। आरोपीको साथमा करिब 30 लाख रुपियाँ फेला परेको बताइएको छ। थाहा लागेअनुसार आरोपी नगदको साथमा एसके ०५ पीए ००१८ नम्बर भएको फर्चुनर वाहनमा सवार भएर अपाह्न करिब ५ बजी राज्यबाहिरबाट नाम्चीतर्फ आइरहेका थिए।
प्रारम्भिक चरणको केरकारमा आरोपीले उक्त रकम भारतीय जनता पार्टीका मानेबुङ देन्ताम निर्वाचन क्षेत्रका उम्मेद्वार एनके सुब्बा र पोकलक कामराङका उम्मेद्वार अर्जुन राई साथै अन्यलाई चुनाउमा सघाउन भनी लिएर आएको बताएको नाम्चीकी जिल्ला चुनाउ अधिकारीले जानकारी गराएकी छन्। अर्कोतिर अधीनमा लिइएको सन्दिग्ध रकम १० लाखभन्दा अधिक भएको कारण कानूनअनुसार आयकर विभागमार्फत जफ्त गर्नुपर्ने भएकोले अहिले आयकर विभागको टोली मल्लीतर्फ रवना भएको जानकारी प्राप्त भएको छ।
यस घट्नाले राज्यको राजनीति पनि गर्मिएको छ। कथित आरोपीलाई पक्राउ गरेको घट्ना सामाजिक सञ्जालमा आउनसाथ सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चाले यसलाई सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङलित जोड़ेर घट्नालाई राजनीतिक मोड़ दिएको छ। प्राप्त जानकारीअनुसार आरोपी सिरिस खरे साइनोले पवन चामलिङका साड़ु भाइ हुन्।