दार्जिलिङ: गोर्खा जनमुक्ति मोर्चाले यसपालीको लोकसभा चुनावमा भारतीय जनता पार्टीलाई समर्थन गर्ने भनी मोर्चा केन्द्रीय अध्यक्ष बिमल गुरुङले घोषणा गरेका छन्। आज दार्जीलिङमा गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समितिको सभा बसेर निर्णय गर्दै यसपालीको लोकसभा चुनावमा चौथोपल्ट भारतीय जनता पार्टीलाई नै समर्थन गरेर जिताउने निर्णय गरेका छन्। उक्त सभापछि पत्रकारहरूसित कुराकानी गर्दै गोजमुमो अध्यक्ष बिमल गुरुङले देशको अठारौं लोकसभा चुनावमा चौथोपल्ट भारतीय जनता पार्टीलाई समर्थन गरेर प्रतिनिधि जिताएर पठाउने अनि यसपाली गोर्खाहरूको मुद्दा फत्ते हुने कुरामा आशावादी रहेको बताएका छन्। गोजमुमो अध्यक्ष बिमल गुरुङले गोर्खा जातिको मुद्दाको लागि र जनताको हितमा भारतीय जनता पार्टीलाई समर्थन जनाएको बताएका छन्। उनले आगामी ३ अप्रेलको दिन भारतीय जनता पार्टीको प्रार्थी राजु विष्टले नामांकन पत्र बुझाउने भएकोले सबैलाई बिहान ९:३० बजे नै दार्जीलिङको चौरास्तामा उपस्थित भईदिने अनुरोध पनि गरेका छन्। उनले गोजमुमो र यसको सबै भातृ संगठनहरूका प्रतनिधिहरूलाई उपस्थित भईदिने आह्वान् गर्दै पहाड़मा रहेका सबैलाई उपस्थित भएर राजु विष्टको नामांकन पत्र बुझाउने अघि व्यापक रूपमा सहभागी भईदिने आह्वान् गरेका छन्। बिमल गुरुङले चौथोपल्ट भारतीय जनता पार्टीलाई जिताएर यसपाली गोर्खाहरूको मुद्दा फत्ते हुने कुरामा आशावादी रहेको पनि बताएका छन्।