सिलगढी: चोरीको घटनाको अनुसन्धान गर्दा मतिगढा पुलिस चौकीले फेरि ठूलो सफलता हात पारेको छ। साइकल चोरीको घटनाको अनुसन्धान गर्दा पुलिसले चोरी भएको १२ वटा साइकल बरामद गरेको छ भने दुई जनालाई चोरीको आरोपमा पक्राउ गरेको छ। २२ मार्चमा अमृता शर्माको फाँसीदेवा मोडस्थित घरबाट साइकल चोरी भएको बताइएको छ। त्यसपछि उनले ३० मार्चमा मतिगढा पुलिस चौकीमा लिखित उजुरी दिएकी थिइन्। घटनाको अनुसन्धान गरिरहेको पुलिसले बालासन बस्तीस्थित एक घरबाट चोरीका १२ वटा साइकल बरामद गरेको छ। घटनामा पुलिसले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बालासन बस्ती निवासी २२ वर्षीय तपन बर्मन र शिव मन्दिर हल मथर बस्ने २५ वर्षीय दिपङ्कर देवनाथ रहेका छन्। पुलिसले पक्राउ परेका अभियुक्तलाई आइतबार सिलगढी डिभिजनल अदालतमा पेश गरेको थियो। यस घटनामा अरु को को संलग्न छन् भन्ने पत्ता लगाउनुका साथै पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान थालेको छ। घटनामा कुनै गिरोहको संलग्नता छ वा छैन भन्ने अनुसन्धान भइरहेको छ।