आईपीएलमा केकेआर-को लगातार दोस्रो जीत

IMG-20240330-WA0082.jpg

बेंगलुरु: इण्डियन प्रीमियर लीग (आईपीएल) २०२४-को दशौं म्याचमा दुईपल्टको च्याम्पियन कलकत्ता नाइट राइडर्स (केकेआर)-ले रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-लाई सजिलैसँग ७ विकेटले पराजित गऱ्यो। आईपीएलको जारी सीजनमा यो कुनै पनि टीमको अवे म्याचमा पहिलो जीत हो। आईपीएलमा केकेआर-को आरसीबी विरुद्ध एम चिन्नास्वामी स्टेडियममा यो लगातार छैटौं जीत हो। बेंगलुरुको फ्रेञ्चाइजी विरुद्ध केकेआर-ले यस विजयाभियानको शुरुवात साल २०१६-मा भएको थियो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै आरसीबी-ले आफ्नो होम ग्राउण्डमा ओपनर विराट कोहली (अविजित ८३ रन)-को अर्द्धशतकको सहायताले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनायो। जवाफमा केकेआर-ले १९ बल बाँकी रहँदै १६.५ ओभरमा ३ विकेट गुमाएर १८६ रनको स्कोरसहित म्याच जित्यो। केकेआर-को यो आईपीएल २०२४-मा दुईवटा म्याचमा लगातार दोस्रो जीत हो। यसरी आरसीबी-ले तीनवटा म्याच खेलेर दोस्रोपल्ट हारको सामना गर्नु पऱ्यो।

केकेआर-को यस जीतमा सुनिल नारिनको अलराउण्ड प्रदर्शनले महत्त्वपूर्ण भूमिका निर्वाह गऱ्यो, जसले १ विकेट लिनको साथै ओपनरको भूमिकामा महत्त्वपूर्ण ४७ रन बनाए। नारिन र फिल सल्टले मिलेर पहिलो विकेटको निम्ति ३९ बलमा ८६ रनको पार्टनरशीप गरी आरसीबी-को बलरहरूका मनोबललाई माटोमा मिलाए। नारिनले २२ बल खेलेर ५ वटा छक्का र २ वटा चौका लगाए जबकि सल्टले पनि २० बलमा ३० रन (२ वटा छक्का र २ वटा चौका) बनाए। टीमको स्कोर ९२ रन हुँदा दुवै ओपनर आउट भएपछि भेंकटेश अय्यरले ४ वटा छक्का र ३ वटा चौकाको साथ ३० बलमा ५० रन बनाएर केकेआर-लाई जीतको संघारमा पुऱ्याए। त्यसपछि जीतको औपचारिकता कप्तान श्रेयस अय्यर (अविजित ३९) र रिंकू सिंह (अविजित ५)-ले मिलेर पूरा गरे। यसअघि पहिला ब्याटिंग गर्ने आरसीबी-को ईनिंग्समा कोहलीको अर्द्धशतक मुख्य आकर्षण रह्यो। उनले ५९ बल खेलेर ४ वटा छक्का र ४ वटा चौकाको साथ अविजित ८३ रन बनाए। कप्तान फाफ डू प्लेसिस (८ रन) शुरुमै आउट भएपछि कोहलीले क्यामरन ग्रीन (२१ बलमा ३३ रन)-सँग दोस्रो विकेटको निम्ति ६५ रन अनि ग्लेन म्याक्सवेल (१९ बलमा २८ रन)-सँग तेस्रो विकेटको निम्ति ४२ रनको ससाना पार्टनरशीप गरी टीमलाई अघि बढ़ाए। रजत पाटीदार र अनुज रावतले उल्लेखनीय योगदान दिन सकेनन् अनि ३-३ रन बनाएर आउट भए। अन्तमा कोहलीले दिनेश कार्तिक (८ बलमा २० रन, ३ वटा छक्का)-सँग मिलेर तेजीको साथ रन बनाउँदै टीमलाई चुनौतीपूर्ण स्कोरसम्म पुऱ्याए। केकेआर-का बलरहरूमा हर्षित राणा र आन्द्रे रसेलले २-२ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement