गान्तोक: गान्तोक जिल्लाअन्तर्गत स्यारी क्षेत्रका एसडीएफ उम्मेद्वार तेञ्जिङ लामताले हिजोदेखि नै चुनाउ प्रचारलाई तीव्रता दिएका छन्। हाल उनी घर दैलो अभियानमा छन्। यसै क्रममा उनले आज ताथङ्गचेनका जनतालाई उनीहरूको घरघरमा पुगेर भोट मागे। ठूलो सङ्ख्यामा समर्थक र एसडीएफ कार्यकर्तासित मतदाताहरूको घरघरमा पुगेका लाम्ताले क्षेत्रको विकासको लागि यसपल्ट आफूलाई अवसर दिने अपील गरे। उल्लेखनीय छ, उनले अन्तिम समयमा एसडीएफ पार्टीबाट टिकट पाएका हुन्। एकेएम पार्टीबाट टिकटका उम्मेद्वार लाम्ताले टिकट नपाएफछि पार्टी त्यागेर सिक्किम डेमोक्रेटिक फ्रण्टमा सामेल भएका थिए भने रातारात टिकट पनि पाएका थिए। यहाँ चाखलाग्दो कुरा के छ भने २०१९ मा टिकट नपाएर उनी एसडीएफ त्यागि एसकेएममा सामेल भएका थिए।
तोञ्जिङ लाम्ताकाअनुसार पछिल्ला दश वर्षमा स्यारी क्षेत्रमा विकासको घाम लागेन। क्षेत्र विधायक कुङ्गा निमा लेप्चाले स्यारी र स्यारीवासीका समस्याहरूलाई समाधान गर्ने प्रयास नगरेको आरोप लगाए। स्यारी क्षेत्रमा सड़कहरूको अवस्था सबैभन्दा सोचनीय रहेको उनले बताए। यसको साथै पिउने पानी पनि क्षेत्रको अर्को प्रमुख समस्या रहेको उनले थप बताए। यी समस्याहरूको समाधानको निम्ति एकपल्ट आफूलाई सेवाको अवसर दिने लाम्ताले क्षेत्रवासीलाई अपील गरेका छन्।










