खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङको तितस लेप्चा स्मृति पुस्तकालय सञ्चालन समितिको आयोजना एवम् तितस लेप्चा परिवारको प्रायोजनामा तेस्रो वर्षको तितस लेप्चा स्मृति शैक्षिक पुरस्कार सिटोङ तीनका छात्र अभय खवासलाई प्रदान गरियो। सिटोङ -लाट समष्टि स्तरमा कक्षा दस स्तरको बोर्ड परीक्षामा गत शैक्षिक सत्रमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूबाट प्राप्त प्रविष्टिको आधारमा प्रदान गरिने यस शैक्षिक पुरस्कारमा नगद राशि बीस हजार एवम् स्मृति चिह्न प्रदान गरिन्छ। विद्यार्थी नानीहरूलाई प्रोत्साहन प्रदान गर्न हेतु स्वर्गीय तितस लेप्चाको स्मृतिमा गठन गरिएको पुस्तकालय सञ्चालन समितिको आयोजनामा यस वर्षको प्राप्त परीक्षाफलमध्ये सर्वोत्कृष्ट विद्यार्थी अभय भुजेललाई लोवर सिटोङस्थित डायरी गाउँ गोलघरमा पुरस्कृत गरिएको छ।

डायरी गाउँ प्राथमिक पाठशालाका पूर्व शिक्षक केबी छेत्रीको अध्यक्षता एवम् ज्ञानपीठ उच्चत्तर माध्यमिक विद्यालय, मङपुका शिक्षक अरुणकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सभापति, प्रमुख अतिथि तथा तितस लेप्चाका माता चेमित लेप्चा -पिता रेभरेन्ट पास्टर दयाछिरिङ लेप्चाको बाहुलीबाट पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा वक्ताहरू क्रमैले पुस्तकालय सञ्चालन समिति अध्यक्ष बिनीता छेत्री, डायरी गाउँ प्राथमिक पाठशालाका पूर्व प्रधान अध्यापक डोनाल्ड सादा, डायरी गाउँ प्राथमिक पाठशालाका वर्तमान प्रधान अध्यापिका रुफिना कार्थक, पुस्तकालय सञ्चालन समिति संरक्षक युनस लेप्चा, प्रमुख अतिथि अरुण कुमार राईले कार्यक्रमको औचित्य तथा तितस लेप्चाको विचार, सामाजिक योगदान अनि कार्यहरूमाथि प्रकाश पारेका थिए।

कार्यक्रममा शुरुको प्रार्थना रेभरेन्ड पास्टर पीडी भोङ्मूले राखेका थिए। कार्यक्रमको सञ्चालन शिक्षक रामकुमार छेत्रीले गरेका थिए। टाढा-नजीकबाट गन्यमान्य व्यक्ति-व्यक्तित्व, आफन्त, मण्डली, सिटोङ ट्राइबल माध्यमिक शिक्षा केन्द्र, सिटोङ एकका विद्यार्थी नानीहरूको उपस्थिति रहेको कार्यक्रममा अन्त्यको प्रार्थना पास्टर पासाङ लेप्चाले राखेका थिए। उल्लेख्य छ स्व तितस लेप्चा सिटोङ क्षेत्रका पर्यटन व्यवसायी एंव समाजसेवी थिए। उनको निधन २८ मार्च २०२० सालमा भएको थियो। स्व तितस लेप्चाको स्मृतिमा सिटोङ एक ग्राम पञ्चायतको डायरी गाउँमा तितस लेप्चा स्मृति पुस्तकालय सञ्चालनमा छ। यसै पुस्ताकालय र स्व तितस लेप्चाको परिवार पक्षबाट सिटोङ लाटपञ्जार समष्टि क्षेत्रका अब्बल अंक ल्याएर उत्तीर्ण विद्यार्थीलाई प्रोत्साहन गर्नलाई तितस लेप्चा स्मृति शैक्षिक पुरस्कार प्रदान गर्ने गरिन्छ। सोही अनुरुप यसपाली तेस्रो तितस लेप्चा स्मृति शैक्षिक पुरस्कार प्रदान गरिएको छ।










