दिनेशचन्द्र नेपाल लोकसभा चुनाउको निम्ति भाजपा उम्मेदवार

n595555184171164930064106142eb71db46f6c70e06585551a1699c69ab5684f8521013dae0e180fa45cd3.jpg

गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमका लोकसभा उम्मेदवार दिनेशचन्द्र नेपालले थॉंतीमा रहेका सिक्किमका मुद्दाहरू केन्द्रमा प्रभावशाली ढङ्गमा उठान गर्न आफु योग्य एवं सक्षम व्यक्ति रहेको दाबी गरेका छन्।

उनले सङ्घ (आरएसएस) सॅंग उनी लामो समयदेखि जोडिएको र केन्द्रिय नेतृत्वहरूसॅंग पनि उनको राम्रो चिनाजाना रहेकाले यी मुद्दाहरूलाई फत्ते गर्न थप समर्थन मिल्ने बताएका छन्।

राजधानीको तादोङ निवासी दिनेशचन्द्र नेपाललाई भाजपाले आगामी लोकसभा चुनाउको निम्ति आफ्नो उम्मेदवार घोषणा गरेको छ। प्रदेश भाजपा उपाध्यक्ष नेपालले आफुमाथि विश्वास गरेर लोकसभा उम्मेदवार बनाएकोमा उनले प्रधानमन्त्री नरेन्द्र मोदी, गृह मन्त्री अमित शाह र पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डालाई धन्यवाद दिए।

उनले विगत ४० वर्षदेखि सिक्किमका धेरै महत्वपूर्ण मुद्दाहरू थॉंतीमा रहेको बताए। यस अवधि धेरै सांसदहरू आए अनि गए, तर कसैले पनि ती मुद्दाहरूलाई पार लगाउन नसकेको उनले बताए। नेपालले आफुलाई एक योग्य अनि सक्षम उम्मेदवार बताउॅंदै सिक्किमे जनताले निर्वाचित गरेको खण्डमा धारा ३७१एफ- को अक्षरस पालन सुनिश्चित गर्न, लिम्बू-तामाङलाई सीट आरक्षण दिलाउन र छुटेका समुदायहरूलाई जनजातिको मान्यता मुद्दालाई तार्किक निष्कर्षमा पुऱ्याउने दिशामा काम गर्ने भरोसा दिलाए।

लोकसभा उम्मेदवार नेपालले आफु सङ्घसॅंग विगत २६ वर्षदेखि जोडिएको जानकारी गराउॅंदै देशको संसदमा लगभग ६० प्रतिशत सांसदहरू सङ्घबाटै आउने गरेको आफुलाई थाहा लागेको दाबी गरे। यस कारण आफु सांसद निर्वाचित बनेको खण्डमा थॉंतीमा रहेका सिक्किमका मुद्दाहरूलाई संसदमा पार लगाउन धेरै सहयोग मिल्ने उनले बताए। उनले संसदमा ठूलो स्वरमा बोलेर मात्र मुद्दाहरू पार लाग्दैन भन्दै प्रक्रिया र व्यक्तिगत सम्बन्धको आधारमा मुद्दाहरू फत्ते गर्न सकिन्छ भनी बताए।

उनले आफु सिक्किम सरकारमा सचिवको पदसम्म सेवा पुऱ्याएर सेवानिवृत्त बनेको अवगत गराउॅंदै सरकारका एक सचिवमाथि सरकारको ठूलो जिम्मेवारी हुनेहुनाले आफुसॅंग प्रशासनिक अनुभव पनि रहेको बताए। यस अतिरिक्त, सङ्घको माध्यमद्वारा देशव्यापी रूपमै आफ्नो राम्रो सम्बन्ध रहेकाले पनि सिक्किमका थॉंतीमा रहेका मुद्दाहरूको छिनोफानो गर्न आफु एक योग्य उम्मेदवार रहेको उनले दाबी गरे।

पत्रकारहरूले सोधेका प्रश्नहरूको उत्तरमा नेपालले सिक्किमको विकास र प्रगति सुनिश्चित गर्नु हो भने भाजपाको साथ आवश्यक रहेको बताए। उनले भने, ‘बजेट दिल्लीबाट आउॅंछ। पर्याप्त राजस्व आर्जनका स्रोतहरू छैनन्। सबै कुराका लागि केन्द्रमाथि नै निर्भर रहनुपर्छ। धनराशिको अभावमा राज्यको विकास कार्य प्रभावित बन्न सक्छ।’ उनले भाजपाका केन्द्रिय नेतृत्वहरू पनि सिक्किमलाई लिएर गम्भीर रहेको अवगत गराए। सिक्किमका जनताले पनि यी विषयहरूमाथि विश्वास गर्नेछन् भन्ने कुरामा आफु विश्वस्त रहेको उनले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *