दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थित तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामाले आज दार्जीलिङ संसदीय सिटको लागि नामांकन पत्र बुझाएका छन्। आगामी २६ अप्रेलको दिन दोस्रो चरणमा हुने लोकसभा चुनावको लागि गोपाल लामाले दार्जीलिङ जिल्ला शासक कार्यालयमा आफ्नो नामांकन पत्र भरेका छन्। यस अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामा, सिलगढीको मेयर गौतम देव, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय चुनाव प्रभारी ज्योतिकुमार राई लगायत अन्य भएर दार्जीलिङ जिल्ला शासक डा प्रीति गोयललाई आफ्नो नामांकन पत्र बुझाएका छन्। नामांकन पत्र अघि दार्जीलिङको चौरास्तामा भागोप्रमोद्वारा एक चुनावी सभा सम्पन्न भएको छ। उक्त चुनावी सभालाई भागोप्रमो केन्द्रीय अध्यक्ष एंव जीटीए प्रमुख अनित थापा, समर्थित तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामा, भागोप्रमो केन्द्रीय उपाध्यक्ष प्रमोस्कर ब्लोन, बिमल जालमिया आदिले सम्बोधन गरेका थिए। यस चुनावी सभालाई भागोप्रमो केन्द्रीय प्रवक्ता केशवराज पोख्रेलले सञ्चालन गरेका थिए। उक्त सभापछि गोपाल लामाको पक्षमा चौरास्ता परिसरबाट नौमति बाजाको साथमा रैली निकालिएको थियो। उक्त रैलीले दार्जिलिङ शहर परिक्रमा गर्दै जिल्ला शासक कार्यालयमा पुगेर नामांकन पत्र बुझाउने कार्य सम्पन्न गरिएको छ। उक्त चुनावी सभा र रैलीमा भागोप्रमो अध्यक्ष अनित थापा, तृणमूल नेत्री पापिया घोष, शान्ता छेत्री, एलबी राई लगायत अन्य तृणमूल कंग्रेसको नेतृत्वहरू र भागोप्रमोका पदाधिकारीहरू उपस्थित रहेका थिए।

उक्त नामांकन पत्र विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले यसपाली थोपेको होइन रोजेको प्रार्थीले जित्नुपर्छ भनी बताएका छन्। उनले गोपाल लामा हाम्रो आफ्नै मान्छे हुन् र उनले जितेको खण्डमा भेट्न सजिलो हुन्छ। उनलाई भेट्न टाड़ा जानु पर्दैन अनि दार्जिलिङ पहाड़को विकासको लागि गोपाल लामालाई जिताउनुपर्छ भनी बताएका छन्।