खरसाङ: अगामी लोकसभा चुनाउलाई केन्द्र गरेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पंखाबारी लंगभ्यु अम्बटे समष्टिले सागठनिक गतिविधिलाई तीब्र बनाएको छ। यही क्रममा पंखाबारी लंगभ्यु अम्बटे समष्टि अन्तर्गत पंखाबारी सार्वजनिक भवनमा सम्पन्न सभामा पंखाबारी नारी शक्ति शाखा कमिटि गठन गरिएको छ। सभामा सरिता तामाङ सभापति, पूर्णिमा तामाङलाई सचिवको पदमा सर्वसहमतिले चयन गरियो भने लंगभ्यु भेलाकूप नारी शक्ति शाखा कमिटिको अध्यक्ष सरिता दर्जी अनि सचिवको पदमा सारदा लामालाई चयन गरियो। सभालाई सम्बोधन गर्दै समष्टि कार्यकारी सभासद कल्पना प्रधानले नारी शक्तिको शाखा गठनले आगामी लोक सभा चुनावमा पार्टीलाई धेरै सहयोग हुने जनाइन्। विगत दिनहरूमा पनि संगठनमा नारी शक्तिले धेरै कार्यहरू गरेको उहाँले जनाइन्। नारी शक्ति केन्द्रीय समिति सभापति साथै खरसाङ खण्ड पञ्चायत समिति अध्यक्ष अनु प्रधानले गोर्खा जातिको निम्ति बीजेपी सरकारले विगत १५ वर्षको समयमा केही नगरेको जनाइन्। उनले यसपालीको चुनावमा गोर्खा जाति चामलमा भोट हाल्ने जाति होइन भनी चिनाउने समय आएको जनाइन्।खरसाङ महुकमा समिति नारी शक्ति अध्यक्षा सबिता कार्कीले आफ्नो सम्बोधनमा नव गठित नारी शक्ति सदस्याहरूलाई बधाई एंव शुभकामना टक्राइन्। उनले आज चयन गरिएको नारी शक्तिका प्रतिनिधीहरूलाई संगठनको हितमा कार्य गरिदिने अनुरोध गरिन्। आज सम्पन्न सभामा पंखाबारी लंगभ्यु अम्बटे समष्टि सचिव ललित प्रधान, प्रचार प्रसार सचिव जिनोद परियार, नारी शक्ति केन्द्रीय समिति सदस्य जैतून निशा खातून, लंगभ्यु संयोजक साथै समिति सदस्य मौसम लामा, समष्टि नारी शक्ति सह-सचिव सचिला तामाङ,समष्टि नारी शक्ति सदस्य सुबाना लामा आदिको बिशेष उपस्थिति रहेको थियो।










